सरकारले कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैनः शेरबहादुर देउवा

डिसी नेपाल
२९ मंसिर २०७७ १६:३३

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको आरोप लगाएका छन् । मकवानपुरमा आज(सोमबार) भएको सरकारविरूद्ध प्रदर्शनमा तनहुँमा रामचन्द्र पौडेल पक्राउ परेको घट्नालाई इंगित गर्दै देउवाले यस्तो बताएका हुन्।

तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

सभापति देउवाले कांग्रेसले कोरोना महामारीका बेला पनि बाध्य भएर सडकमा आउनुपरेको बताएका छन्। देउवाले भने, ‘हामीले सरकारलाई बारम्बार सहयोग गरेको हो। यति गर्दापनि सरकार नसच्चिएपछि हामी बाध्य भएर सडकमा आएका छौँ।’

देउवाले कोरोना महामारीविरुद्धको लडाईंमा कांग्रेसले सरकारलाई पूर्ण साथ दिएको भन्दै सरकारले भ्रष्टाचार गर्दा सडकमा आउनुपरेको बताए।

उनले कोरोनामा पनि सरकारका जिम्मेवजार व्यक्तिहरुले घुस खाने काम गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताएका छन् ।

‘ओलीलाई मैले हाम्रो पूरा साथ हुन्छ भनेको थिएँ। हामीले दशैँको तलब भत्ता पनि दियौँ। तर कोरोनामा पनि घुस खाने, भ्रष्टाचार गर्ने काम गरे,’ देउवाले भने, ‘ओली राजमा बलात्कार बढे। शून्य सहनशीलता भनेर निर्मला पन्तका हत्यारालाई अहिलेसम्म कारवाही भएको छैन। एकलौटी शासन गरेर लेख्न, बोल्न पनि बन्द खोजिरहेको छ। प्रजातन्त्रको रक्षा र कोरोना महामारी विरुद्धको लडाईका लागि हामी सडकमा आएका छौं। कम्युनिस्टबाट जनता आजित भइसकेका छन्। मुक्त पार्न देशभर आन्दोलन गर्छौं।’

प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेको प्रसंग निकाल्दै देउवाले राजा फर्केर आउने भ्रम नराख्न पनि आग्रह गरेका छन्। उनले भने,‘सडकमा राजा आऊ, देश बचाऊ भन्दै कराइरहेका छन्। उनीहरुलाई त्यो हिम्मत कहाँबाट आयो?’

‘प्रजातन्त्रका लागि लड्दा राजाले त्यसबेला मलाई थुने। जेलमा राखे। अहिले राजा आऊ, देश बचाऊ भन्ने,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहँदैनन्। त्यसैले राजा आउने भ्रम नराख्नू।’

उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा केपी ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन्। ‘ओली सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ,’ उनले भने।

उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन्। देउवाले भने, ‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *