रिक्त पदपूर्तिका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बस्दै

डिसी नेपाल
३० मंसिर २०७७ ७:४९

काठमाडौं। विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक आयोगका पदपूर्तिका लागि परिषदको बैठक बोलाएका हुन्।

यसअघि आइतबार बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नभएपछि बैठक स्थगित भएको थियो।

सरकार विरुद्ध आन्दोलन घोषणा गरेको अवस्थमा प्रधानमन्त्रीले बोलाएको परिषदको बैठकमा सहभागी हुँदा नराम्रो सन्देश जाने भन्दै देउवा बैठकमा सहभागी भएका थिएनन्।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबण्डा नमिल्दा ४० भन्दा बढी पद रिक्त छन्। संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन्।

राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन्। निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ।

त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ। समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *