गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संवैधानिक परिषद बैठक स्थगित, पाँच बजे फेरि बस्ने

डिसी नेपाल
३० मंसिर २०७७ ११:१८

काठमाडौं। सभामुख अग्नि सापकोटा सहभागी नभएपछि संवैधानिक परिषदको बैठक दोस्रो पटक पनि स्थगित भएको छ। सभामुख सहभागी नहुँदा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदमा रिक्त पदपूर्तिका विषयमा छलफल गर्न मंगलबार विहान नौ बजे संवैधानिक परिषदको बैठक बोलाएका थिए।

तर बैठकमा सभामुख सहाभागी नभएपछि मंगलबार साँझ पाँच बजेसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ।

यसअघि आइबार पनि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाएका थिए। उक्त बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी नभएपछि स्थगित भएको थियो।

६ सदस्यीय परिषदमा उपसभामुख पद रिक्त छ। बैठकको कोरम पुग्न अध्यक्षसहित चार सदस्यीय उपस्थित हुनुपर्ने संवैधानिक व्यावस्था छ। तर सभामुख अनुपस्थित हुँदा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षको दलको नेता र उपसभामुख सदस्य रहने प्रावधान छ। अहिले उपसभामुख पद रिक्त छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *