संवैधानिक परिषद बैठकमा सभामुख नआएपछि उनी नै नचाहिने गरी नयाँ अध्यादेश आयो

डिसी नेपाल
३० मंसिर २०७७ १४:५३

काठमाडौं। सभामुख नआएर कोरम नपुग्दा संवैधानिक परिषद रोकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन् । मन्त्रीपरिषदले सिफारिस गरेर राष्ट्रपतिले आज जारी गरेको नयाँ अध्यादेशले सभामुख नआउँदा पनि संवैधानिक परिषद बैठक नरोकिने गरी बाटो खोलेको छ । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले एक वक्तव्यमार्फत जनाएका छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नयाँ अध्यादेशमा संवैधानिक परिषदका कूल सदस्यमध्ये बहुमत सदस्य उपस्थित भए बैठक बस्न बाधा नपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

यसअघि संवैधानिक परिषदको बैठक बस्न प्रधानमन्त्रीसहित अन्य ४ जना सदस्य उपस्थित हुनै पर्ने व्यवस्था थियो । उपसभामुख पद यसअघि नै रिक्त भएकोले परिषदको बैठक बस्नको लागि अन्य सबै सदस्य अनिवार्य उपस्थित हुनै पर्ने बाध्यता थियो । नयाँ अध्यादेशले त्यो बाध्यता फुकाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो।

प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि परिषद्को बैठक राखेका छन्। अध्यादेश जारी भएपछि अब भने बेलुकी ५ बजेको बैठकमा सभामुख उपस्थित नभए पनि बैठक बस्न बाधा पर्ने छैन । गणपुरक संख्या पु¥याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *