अध्यादेश प्रकरणः प्रचण्ड र देउवाको विरोध, देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

डिसी नेपाल
३० मंसिर २०७७ १६:१६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा मंगलबार संवैधानिक परिषद सम्बन्धी ऐन संशोध गर्न अध्यादेश जारी गरेकामा सत्तारुढ दल नेकपाकै एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएका छन्।

मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको केही मिनेटमै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी छन्।

आकस्मिक रुपमा अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मा बुहमतबाट संवैधानिक अंगमा पदाधिकारि नियुक्तिका लागि बाटो फुकाएका छन्। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएर संवैधानिक अंगमा पदाधिकारी नियुक्तीको तयारी गरेका छन्। मंगलबार अपराहन्न ५ बजेलाई परिषद्को बैठक बोलाइएको छ।

तर, बिहानको बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा भने बेलुकाको बैठकमा सहभागी नहुने भएका छन्। देउवा निकट स्रोतले भन्यो, ‘अध्यादेश ल्याएर बोलाइएको बैठकमा सभापति ज्यूले नजाने बताउनु भएको छ।’

उता प्रचण्ड भने अध्यादेश जारीप्रति आक्रामक बनेका छन्। प्रचण्डको सचिवालयका एक सदस्यले भने ‘यो अध्यादेश लोकतान्त्रिक विधि विपरित रहेको अध्यक्ष ज्यूको भनाइ छ। संसद बोलाउनुपर्ने बेला अध्यादेश ल्याउनु असंवैधानिक हो भन्ने उहाँको भनाइ छ।’ प्रचण्डले यो अध्यादेश् तत्काल फिर्ता लिनसमेत भनेका छन्।

यसैबीच यतिबेला प्रचण्ड निवास खुमलटारमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेताहरुको छलफल चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *