ओली–प्रचण्ड दोस्रो पटक छलफलमा, अन्योलमा स्थायी कमिटी

डिसी नेपाल
१ पुष २०७७ १५:२३

काठमाडौं। कार्यसूची अनुसार नेकपा स्थायी कमिटी बैठक १ बजे सुरु हुनुपर्ने थियो। तर त्यही समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएपछि एक बजेर ३५ मिनेटमा स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारका सभाहलमा प्रवेश गरे।

प्रधानमन्त्रीसँगको छलफल सकेर बैठकस्थलमा प्रवेश गरेका प्रचण्डले बैठकमा प्रधानमन्त्री सहभागी नहुने जानकारी गराए।

बैठक औपचारिक रुपमा सुरु नभएपछि नेताहरु समूह बनाएर गफिन थाले। त्यही बीचका केही सांसदको हस्ताक्षर लिएर स्थायी कमिटी सदस्यद्वय भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति भवन शितल निवासतर्फ भए।

सो समाचार तयार पार्दासम्म रावल र भुसाल शितल निवास प्रवेश गर्न पाएका छैनन्। विशेष अधिवेशनको माग गर्दै केही सांसदको हस्ताक्षर लिएर आफू इतर शितल निवास गएको थाहा पाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर शितल निवासबाट फिर्ता बोलाउन आग्रह गरेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर शितल निवासबाट नेताहरुलाई फिर्ता लिन आग्रह गर्दा प्रचण्डले पहिला अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए।

केही बेरको संवादपछि अहिले दुवै अध्यक्ष फेरि छलफलमा जुटेका छन्। दुवै अध्यक्ष छलफलमा जुटेका कारण अहिलेसम्म स्थायी कमिटी बैठक बस्न सकेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *