नेकपामा दिनभर भएका नाटकीय घटनाक्रम

डिसी नेपाल
१ पुष २०७७ २०:१८

काठमाडौं। मंगलबार सरकारले अचानक अध्यादेश ल्याएर संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्दै सोही अध्यादेशको व्यवस्था बमोजिम परिषद् बैठक बसालेपछि यसअघि नै तय भएको बुधबारको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक वार पारको अवस्थामा पुग्ने आकलन राजनीतिक पण्डितहरुले गरेका थिए।

अध्यादेश जारीपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको खुमलटारमा भेला भएको थियो। जसले अध्यादेश फिर्ता लिन भनेको थियो। यो प्रारम्भिक प्रतिक्रियाले पनि बुधबारको स्थायी कमिटी बैठक भिडन्तकै अवस्थामा पुग्ने पूर्वानुमान थियो।

तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन। यो कर्भ रेखामा अगाडि बढ्छ। बुधबार भयो त्यस्तै। बुधबार बेलुकाको ६ बज्दा नेकपा गत असोजदेखि शुरु विवाद नै समाधानको दिशामा अगाडि बुढेको छनक देखिएको छ।

तर, बुधबार दिनभर भएका घटनाक्रम भने निकै रोचक छन्। अध्यादेश ल्याएपछि परिस्थिति निकै जटिल बनेको भन्दै मंगलबारबाटै दुई अध्यक्षबीच वार्ताको पहल भएको थियो। जसको निरन्तरता बुधबार बिहानैबाट भयो।

संसदीय दलका उपनेता सुवास नेम्वाङ यसका लागि निकै सक्रिय भए। उनले मंगलबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटिसकेका थिए भने बुधबार दुई अध्यक्षबीच छलफलको वातावरण बनाएका थिए।

त्यसैले १ बजेभन्दा अगाडि नै प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगे। यसअघि ओलीसँग एक्लै वार्ता नगर्ने बताएका प्रचण्ड आफ्नो पक्षबाट भने बुधबार एक्लै गए। तर, वार्ताको मध्यस्थकर्ता नेम्वाङ, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल र कृषिमन्त्री घनश्याम भुसालले गरे।

तीन नेताको पहलले दुई अध्यक्षबीच बालुवाटारमै भएको पहिलो चरणको छलफल भने तिक्ततापूर्ण रह्यो। प्रचण्डले अध्यादेश फिर्ताबाहेक अन्य कुनै कुरा सुन्ननै नचाहेको बताए भने ओलीले यो सबै प्रचण्डकै कारण भएको बताए।

यहीबीचमा १२ बजेपछि प्रचण्ड–माधव समूहका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगे। नेताहरु भीम रावल र पम्पा भुसाल संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन लिएर शीतल निवास पुगेका थिए।

यसरी प्रचण्ड–माधव समूह अध्यादेश प्रकरणपछि आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री निवासमा बुधबार दिनभर संसय र त्रासको वातावरण बन्यो। दुई अध्यक्षबीचको पहिलो चरणको वार्ता आधा घण्टा चलेर निष्कर्षबिहीन बनेपछि प्रचण्ड स्थायी कमिटी बैठक बोलाउन तम्सिए। तर, नेम्वाङहरु फेरि सक्रिय भए। उनीहरुले दुई अध्यक्षबीच फेरि छलफलका लागि वातावरण बनाए। प्रचण्ड र ओलीलाई नेम्वाङले योबीचमा तारन्तार भेट गरिरहे।

समय घर्किँदै गइरहेको थियो, स्थायी कमिटी बैठक शुरु भएको थिएन। बैठकका लागि पुगेका स्थायी कमिटी सदस्यहरु बालुवाटारमा घाम तापेर बस्न बाध्य भए। उता शीतल निवासमा समावेदन लिएर पुगेका नेताहरु भने राष्ट्रपति कार्यालयका सचिवसँग भेट्न नपाएर हैरान भए। सचिवको फोन नै अफ रहेको नेताहरुले बताएका थिए।

सदस्यहरु बालुवाटारमा घाम ताप्ने र सांसदहरु शीतल निवासमा सचिव पर्खने चलिरहेका बेला ओली र प्रचण्डबीच फेरि निर्णायक छलफल भयो। यो छलफलमा सहमति भएपछि ४ बजे स्थायी कमिटी बैठक बस्यो। बैठक ६ बजे सकियो। शीतल निवासको टोली पनि समावेदन दर्ता नगरेरै ६ बजे फर्कियो। नेकपाको विवादमा अहिललाई अल्पकालीन विराम लागेको छ।

तर, यती हुँदाहँदै बुधबार अर्को रोचक प्रसंग छ, त्यो हो दुई अध्यक्षबीच भएको सहमति। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले ‘सबै फिर्ता’ लिने सहमति भएको बताए। उनको संकेत अध्यादेश, समावेदन, स्थायी कमिटीमा रहेका दुई अध्यक्षका राजनीतिक प्रतिवेदनतर्फ थियो।
तर, प्रचण्डकी निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै दुई बुँदे सहमति भएको बताएकी छन्। उनले अध्यादेश फिर्ता लिने र समावेदन प्रक्रिया अगाडि नबढाउने सहमति भएको उल्लेख गरेकी छन्।

स्थायी कमिटी बैठकले दुईअध्यक्षबीच भएको सहमतिअनुसार अध्यादेश फिर्ता लिने र समावेदनको प्रक्रिया पनि रोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। तर, उनले अन्य प्रस्तावबारे सहमति भएको वा नभएको केही पनि खुलाएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *