चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ

डिसी नेपाल
१ पुष २०७७ २१:१६

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टोखा नगरपालिका–२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको आखेटोपहार एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *