नाै महिनापछि सुरु भयो नेपाल भारत नियमित उडान, यात्रुकाे संख्या करिव ८५ प्रतिशत
काठमाडाैं । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि विगत ९ महिनादेखि बन्द नेपाल भारत नियमित अन्तर्देशीय हवाई उडान बिहीबार (आज)देखि आंशिकरुपमा सञ्चालनमा आएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन र हवाई उडान बन्द गरेको थियो। त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको हो।
नेपाल एयरलाइन्स कार्यलयले दिएको जानकारी अनुसार सिट क्षमता १५८ जना भएको ए–३२० जहाज काठमाण्डौबाट दिल्लीका लागि प्रस्थान गरेको छ। उक्त जहाज नेपालबाट विहान सवा ११ बजे दिल्लीका लागि उडेको हो। पहिलो उडान भएपनि यात्रुको संख्या भने राम्रो रहेको एयरलाइन्स कार्यलयले जनाएको छ। बिहिबारको उडानमा झण्डै ८५ प्रतिशत यात्रु संख्या रहेको छ।
यस्तै आजै दिउसो सवा २ बजे दिल्लीबाट एयर इण्डियाको जहाज नेपाल प्रस्थान गर्ने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन। बिहिबारदेखि दैनिक एक उडान काठमाडौंबाट दिल्ली प्रस्थान गर्नेछ। यस्तै भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ।
यात्रुले नेपाल सरकार र भारत सरकारले तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड भने पुरा गर्नुपर्ने छ। भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ। भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन्।
यात्रुको चाप हेरेर जहाजको संख्या वृद्धि गर्दै जाने नेपाल वायुसेवा निगमको तयारी छ। सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिएको थिएन।
Facebook Comment