प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषदको बैठक, सभामुख बेखबर

डिसी नेपाल
२ पुष २०७७ १५:२९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन्। बिहीबार साँझ पाँच बजे बस्ने गरी बैठक बोलाइएको स्रोतले जनाएको छ।

मंगलबार संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेर बैठक राखेका प्रधानमन्त्री ओलीले बुधबार अध्यादेश फिर्ता लिने सहमति गरेका थिए।

बुधबार स्थायी कमिटी बैठकले सरकारले अध्यादेश फिर्ता लिने र पार्टीका ८३ जना सांसदले हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गराउने तयारी गरेको समवेदना फिर्ता लिने सहमति गरेको थियो।

तर प्रधानमन्त्री ओलीले बिहीबार अचानक संवैधानिक परिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले फोनमार्फत बैठक बस्ने सूचना प्रधानन्यायाधीश चेलेन्द्र शमशेर राणा, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालाई दिएका छन्।

यो समाचार तयार पार्दासम्म सभामुख अग्नि सापकोटालाई भने बैठकबारे जानकारी दिइएको छैन। ‘अहिलेसम्म संवैधानिक परिषदको बैठक बस्ने विषयमा कुनै जानकारी आएको छैन,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले डिसी नेपालसँग भने।

पार्टीको स्थायी कमिटीले अध्यादेश फिर्ता लिन निर्देशन दिएको भोलिपल्टै प्रधानमन्त्रीले बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ। तर अहिले उपभामुख रिक्त छ।

हाल राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अध्यक्षसहित विभिन्न संवैधानिक निकायहरुमा ४५ पद रिक्त रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *