सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव सिलवाल

रासस
३ पुष २०७७ २१:०२

कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार÷पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा सङ्घ मर्कामा परेको बताए ।

प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ । कास्कीले स्याङ्जालाई सात पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८ दशमलव पाँच ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको योगफल तयार गरेकामा कास्कीले २८ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो । कास्कीको तर्फबाट अभिषेक थापाले अविजित ४३ तथा सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाएका थिए ।

स्याङ्जाका विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन बनाए । कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान तीन/तीन विकेट तथा कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक/एक विकेट लिए । प्रतियोगिता अन्तर्गत शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने सङ्घका सचिव सुमनराज कार्कीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *