लघुकथा : अँध्यारो
माघ महिना जाडो निकै थियो । झिसमिसे उज्यालो देखिन थालेको थियो । सूर्य उदाउँदै थियो । बादल लागेको थिएन । एकछिन्मा सूर्य उदायो । यसबेलासम्म आश्रमका मठाधीश नुहाइ–धुवाइ सकेर मन्दिर बाहिर निस्केर सूर्य नमस्कार गरी सूर्यलाई जल चढाउँदै थिए ।
उनले पातलो धोती मात्र लगाएका थिए । सिउसिउ गर्दै थिए । जोडजोडले मन्त्र वाचन गर्दै थिए । उनका चेलाहरू पनि उनीजस्तै धोती लगाएर उभिएर जल चढाइरहेका थिए । उनीहरू मन्त्र भन्दै थिए । मन्त्रको सार थियो – हे सूर्य भगवान, यो संसारमा धेरै अँध्यारो छ, आफ्ना ज्वाजल्यमान प्रकाश छरेर उज्यालो छरिदेऊ ।
सूर्य नमस्कार सकेर गौशालातिर हेर्दा आश्रमको गौशालाको एकाछेउमा एकजना जीवन हारेको पथिक बास बसेको देखे मठाधीशले । उसले जडाउरी नै भए पनि बाक्ला लुगा लगाएको थियो । एउटा मैलो देखिने दोलइँ ओढेको थियो । मठाधीश रिसले बेस्सरी कराए – ए, को हो यहाँ बास बसेको ! यहाँबाट गइहाल् । कस्ता कस्ता मान्छे आउँछन् । गौमाताको सेवा गर्ने बेला भयो ।
उसले आफ्नो फाटेको झोला बोक्यो र उठ्यो । मठाधीशले अझै कु्रद्ध भएर थपे – घाम झुल्किसक्यो, जा भनेको सुन्दैनस् ? त्यो मान्छेले पनि घामलाई देखाउँदै मठाधीशतिर फर्केर भन्यो – बाजे, घाम त सधैँ झुल्किन्छ नि, तर मान्छेको अँध्यारो पो ज्यूकात्यूँ छ ।
सेप्टेम्बर २५, २०२०
सान एण्टोनियो, अमेरिका
Facebook Comment