छोरीका ब्वाइफ्रेण्डलाई आफूसँगै क्वारेन्टाइन राखेका ओबामाले भने–‘धेरै खान्थे, खर्च बढ्यो’
काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोनाभाइरस महामारीका क्रममा उनकी छोरी मालियाका ब्वाइफ्रेण्ड आफूहरुसँगै क्वारेन्टाइन बसेको खुलासा गरेका छन् । ओबामाले एक जवान व्यक्तिले धेरै खाएका कारण उनको ग्रोसरीको बिल ३० प्रतिशतसम्म बढेको समेत बताए ।
द बिल सिमन्स पडकास्ट शोमा ओबामाले कोरोना महामारीको सुरुवाती दिनमा छोरी मालियाका ब्वाइफ्रेण्ड आफ्नो परिवारसँगै क्वारेन्टाइन भएको बताए । मालिया ओबामाकी जेठी छोरी हुन् र उनी २२ वर्षकी छिन् । उनका ब्वाइफ्रेण्डको नाम रोरी फर्कुहर्सन हो ।
ओबामाले मालियाका ब्वाइफ्रेण्ड रोरीको बारेमा भने ‘भिसाका विषयमा धेरै कुराहरु थिए । उनजको जागिर थियो । त्यसैले हामीले उनलाई हामीसँगै बस्न दियौं । म उनलाई मन पराउन चाहन्नथें तर उनी राम्रो मान्छे छन् ।’ क्वारेन्टाइनको क्रममा छोरीहरु मालिया, साशा र रोरीसँग आफूले राम्रो समय बिताएको बताएका छन् ।
ओबामाले उनीहरुलाई कार्ड गेम खेल्न पनि सिकाएको खुलासा गरे । ओबामाका अनुसार रोरीको खानपिन उनका छोरीहरुको भन्दा धेरै फरक थियो । उनलाई खाइरहेको हेर्दा अनौठो लाग्थ्यो । यसबाट ग्रोसरीको बिल ३० प्रतिशत बढ्यो । न्यूयोर्क पोस्टका अनुसार मालिया र रोरी हार्वर्ड विश्वविद्यालयमा पढ्ने क्रममा भेटेका थिए ।
Facebook Comment