ओलीको खुमलटार दौड, के ओली गलेका हुन् ?

डिसी नेपाल
४ पुष २०७७ १५:५५

काठमाडौं। यो पुसमा काठमाडौंको मौसम दैनिक चिसो हुँदै गइरहेको छ। पुस ४ शनिबारको दिन काठमाडौंमा यो वर्षकै अत्यधिक चिसो भयो। मौसम विभागका अनुसार काठमाडौंको बिहानको तापक्रम २ डिग्री सेल्सियस थियो।

मौसम चिसो हुँदा काठमाडौंमा राजनीतिक माहोल भने अचाक्ली तातिएको छ। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद चर्किएकाले त्यसले राजनीतिक वातावरणलाई तताएको छ। यही तातिएको माहोलबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन्। जबकी ओली मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिरलै बाहिर निस्कने गर्छन्।

अकस्मात ओलीले शनिबार खुमलटार कुच गरे जसले नेकपाको तरंगित राजनीतिलाई झन तरंगित पारिदिएको छ। भलै खुमलटारमा दुई अध्यक्षको छलफलले सकरात्मक निष्कर्ष ननिकालेको होस, प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिर निस्केर खुमलटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ।

नेकपामा ओलीले त्याग गर्नुपर्ने भन्दै अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका छन्। जसको समर्थन बुहमत सचिवलाय र स्थायी कमिटी सदस्यले गरेका छन्। त्यसको प्रतिउत्तरमा ओलीले पनि अर्को राजनीतिक प्रस्ताव पेश गरेका छन्। जो अल्मतमा छ।

त्यसमाथि गएको मंगलबार सरकारले अकस्मातरुपमा संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याएपछि नेकपाको विवादको घनत्व झन बढेको छ। अध्यादेशको चौतर्फी विरोध खेपेपछि प्रधानमन्त्रीले गत नेकपा स्थायी कमिटी बैठकमा सो अध्यादेश फिर्ता लिने बताए र नेकपाले अध्यादेश फिर्ता लिने निर्णय पनि गर्यो। तर, त्यसको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ताबारे कुनै निर्णय नगरेपछि ओलीको नियतमाथि नै प्रश्न उठेको छ।

यसरी चौतर्फी घेराबन्दीमा परेका ओली शनिबार खुमलटार पुग्नुलाई उनी विस्तारै नरम बन्दै गएको संकेत मिल्छ। सत्यसँग नझुक्ने बताउँदै जबरजस्त अडान अडान राख्दै आएका ओली खुमलटार पुग्नु नै उनी गल्दै गएको संकेतका रुपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

तर, शनिबारको खुमलटार भेटमा ओलीलाई कुनै सफलता भने हात लागेन। आइतबार नेकपा स्थायी कमिटी बैठक बस्दै छ। सो बैठकले प्रधानमन्त्रीमाथि कुनै निर्णय गर्न सक्ने छनक पाएपछि ओली खुमलटार पुगेको दावी गरिएको छ। खुमलटार पुगेर ओलीले प्रचण्डलाई फकाउँदै प्रस्ताव फिर्ता लिन आग्रह गरेको बुझिएको छ। तर, प्रचण्डले सो आग्रह नमानेको र जे हुन्छ पार्टीको निर्णय अनुसार नै हुन्छ भन्ने जवाफ दिएको बताइएको छ।

प्रचण्डले आफ्नो कुरा नमान्ने देखेपछि ओली त्यहाँबाट फर्केर हरिहर भवनस्थित गृहमन्त्री रामबहादुर थापा बादलको क्वाटरमा पुगेको जनाइएको छ। बादल पूर्व माओवादीका भए पनि ओलीलाई साथ दिँदै आएका नेता हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *