प्रधानमन्त्रीको कदम संविधानमाथिको ‘कू’ : विवेकशील साझा

डिसी नेपाल
५ पुष २०७७ १२:३८

काठमाडौं। विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नु असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम रहेको जनाएको छ। आइतबार पार्टी अध्यक्ष रविन्द्र मिश्रले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। साथै संसद विघटनका लागि प्रधानमन्त्री सिफारिस गर्नु संविधानमाथिको ‘कू’ रहेको उसले जनाएको छ।

नेपालको संविधानले संसद विघटनको ‘विशेषाधिकार’ प्रधानमन्त्रीलाई प्रदान नगरेको जनाउँदै साझा पार्टीले संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार दिएकोले पछिल्लो कदम असंवैधानिक रहेको विवेकशील साझा पार्टीले उल्लेख गरेको छ।

उसले बक्तव्यमा थप लेखेको छ निहीत स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्। लोकतन्त्रमा विरलै प्राप्त हुने झन्डै दुई तिहाइ जनमतमाथिको निर्लज्ज घात हो।

जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन्।’ यस्तै मिश्रले पदको गरिमा जोगाउन मन्त्रिपिरषदको सिफारिस सदर नगर्नसमेत आग्रह गरेका छन्।

संसद विघटनको सिफारिसबारे संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल सुरु गर्न विवेकशील साझा पार्टीले राष्ट्रपति भण्डारीलाई आग्रह गरेको छ।

साथै प्रधानमन्त्रीको राष्ट्रघाती कदमविरुद्ध आमनागरिकलाई एकजुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकवद्ध हुन उसले आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *