संसद् विघटनको नेकपासहित तीन दलले सँयुक्त विरोध गर्ने

डिसी नेपाल
५ पुष २०७७ १९:१८

काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयको सत्तारुढ पार्टी नेकपाले नै विरोध गर्ने निर्णय गरेसँगै तीन पार्टीले सँयुक्तरुपमा विरोध गर्ने भएका छन्। नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले सँयुक्त रुपमा विरोध गर्ने भएका हुन्।

संसद विघटनपछि आइतबार बसेको तीन दलको बैठकले सँयुक्त विरोध गर्ने निर्णय गरेको हो। नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विरोध गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।

उनले भने, ‘जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो। प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो। यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो। यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो।’

तीन पार्टीले विरोध गर्ने बताए पनि कस्तो विरोध हो भन्नेबारे भने केही खुलाइएको छैन। बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा सहभागी थिए।

कांग्रेसकोतर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए। यस्तै, जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो बैठकमा सहभागी थिए।

सरकारले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। संसद् विघटन गरेपछि नेकपाले प्रधानमन्त्री ओलीमाथि अनुशानको कारबाही गर्ने निर्णयसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *