नेकपा औपचारिक विभाजनतर्फः दुबै गुटले बोलाए केन्द्रीय कमिटी बैठक

डिसी नेपाल
६ पुष २०७७ १६:१६

काठमाडौं। सत्तारुढ दल नेकपा औपचारिक विभाजनतर्फ अगाडि बढेको छ। नेकपा दुई अध्यक्षले मंगलबारका लागि छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो एक बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

नेकपामा जारी विवादका बीच सरकारले संसद् विघटन गरेपछि विवाद विभाजनतर्फ अगाडि बढेको हो। आइतबार सरकारले संसद् विघटन गरेपछि ओली समूहको बहिस्कारकाबीच नेकपा स्थायी कमिटीका बहुमत सदस्यको बैठक बसेको थियो। जसले ओलीमाथि अनुशानको कारबाही गर्ने निर्णय गरेको थियो। सो निर्णय बमोजिम ओलीमाथि कारबाही गरिएको पत्र सोमबार निर्वाचन आयोगमा दिइसकिएको छ।

उता प्रचण्ड समूहले कारबाहीको निर्णय गरेपछि सोमबार ओलीले पनि केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। संसद् विघटन र त्यसपछिको राजनीतिक अवस्थाबारे रणनीति बनाउन भन्दै ओलीले बैठक बोलाएका छन्।

नेकपा स्थायी कमिटी सदस्य गणेश शाहले पार्टी अब विभाजनमा गइसकेको बताए। उनले दुबै पक्षले एकअर्कामाथि कारबाही गर्ने र त्यसपछि पार्टी औपचारिक रुपमा विभाजन हुने अनुमान गरे। प्रचण्ड समूहले मंगबार ओलीमाथि अनुशानको कारबाहीलाई अनुमोदन गर्ने लगभग निश्चित छ। ओली समूहले कस्तो निर्णय गर्छ त्यो भने हेर्न बाँकी।

सोमबार दुबै समूहले आ आफ्ना निकट विघटित सांसदहरुको पनि भेला गरेका थिए। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेला आयोजना गरेका थिए भने प्रचण्ड समूहको भेला संसद भवन नयाँ बानेश्वरमा भएको थियो।

संसद् विघटनको ओली निकटबाहेक सवत्र आलोचना भएको छ। नेकपाकै प्रचण्ड समूह, काँग्रेस, जनता समाजवादी पार्टी, साझा विवेकशील पार्टी, राप्रपाले संसद् विघटनको विरोध गरेका छन्। सामाजिक सञ्जालहरुमा पनि संसद् विघटनको ब्यापक आलोचना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *