नेकपा विभाजनको औपचारिक सुरुवात

डिसी नेपाल
७ पुष २०७७ ८:१२

काठमाडौं। लामो रस्साकस्सी र विवादपछि अन्तत :  सत्तारुढ दल नेकपा विभाजन हुने निश्चित भएको छ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन उन्मुख भएको हो। प्रतिनिधि सभा विघटन पछिको अवस्थाका बारेमा सोमबार आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला गरेका दुवै अध्यक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन्।

सोमबार बिहान बालुवाटारमा आयोजित भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका सांसद्हरु समक्ष प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुनको कारणका बारेमा ‘ब्रिफिङ’ गरेका थिए।

भेलामा प्रधनमन्त्री ओलीले आगामी वैशाखमा हुने निर्वाचनमा जनतासामु प्रतिनिधि सभा विघटन गर्नुको कारणसहित क्षमा याचना गरिने बताएका थिए।  उता कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा सहभागी निवर्तमान सांसदहरुले तत्काल संसद्को बैठक बोलाउन माग गरेका छन्।

‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरि गरेको प्रतिनिधि सभाको विघटनको सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ संवेदनशील नरहेकोप्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ,’ भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘संविधानबमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसदको अधिवेशन अबिलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ।’

प्रचण्ड–नेपाल समूहको नयाँ बानेश्वर भेलाले संसदीय दलको बैठकको मिति पनि तय गरेको छ। भेलाले बुधबार संसदीय दलको बैठक डाकेर प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निष्कर्ष निकालेको छ।

यता प्रधानमन्त्री ओलीले आजै विहान नौ बजे केन्द्रीय कमिटीको बैठक बोलाका छन्। बैठक विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

प्रचण्ड समूहले पनि आजै केन्द्रीय कमिटी बैठक बोेलाएको छ। दिउँसो एक बजे बस्ने उक्त बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने बताइएको छ। दुवै पक्षले केन्द्रीय कमिटी बैठक बोलाएसँग नेकपा विभाजनको संघारमा पुगेको हो। दुवैतिरका बैठक अलग अलग बसेसँगै नेकपाको औपचारिक विभाजन सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *