नेपालको आर्थिक अवस्था सकारात्मक, घट्ने आँकलनका बावजुद बढ्यो रेमिटेन्स
काठमाडौं। नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का काराण नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्ने विश्लेषण भएका थिए।
तर नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको आर्थिक विवरण अनुसार नेपालको आर्थतन्त्र सकारात्मक स्थितिमानै रहेको देखिएको छ। खास गरि नेपालको अर्थतन्त्रको ठूलो खम्बाको रुपमा रहेको रेमिट्यान्स घट्ने आँकलनका बाबजुत बढेको छ।
राष्ट्र बैंकको विवरण अनुसार विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स ११.२ प्रतिशतले बढेको छ। चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिटेन्स भित्रिएको छ।
अर्थ मन्त्रालयका सहायक सुचना अधिकारी तथा उपनिर्देशक डा. भागवत आचार्यका अनुसार खासगरि विदेशमा नेपाली कामदारहरुको तलव वृद्धि हुनु, हुण्डी कारोबारो घट्नु, यही बीचमा दशै तिहार जस्ता मुख्य चाँड–पर्व पर्नु, र डिजिटल पद्धतिको बढ्दो प्रयोग जस्ता कारण रेमिटेन्स बढेको हो।
श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेहरुको संख्या घटिरहेकोले अब भने रेमिटेन्स घट्न सक्ने अधिकारी बताउँछन्।
आयात साढे १० प्रतिशतले घटेर ४०२ अर्ब ४९ करोड रुपैयाँको मात्र भएको छ। योसँगै मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ।
खासगरि यातायातका साधन र पाटपुर्जा, इन्धन र पुँजीगत वस्तुको आयात घटेको छ। तर खाद्यान्नलगायतको आयात भने १४ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ। यस्तै निर्यात भने करिब ११ प्रतिशतले बढेर ४० अर्ब २० करोड पुगेको छ।
यस्तै मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएकोमा कात्तिकसम्ममा यो दर ४ दशमलव शून्य ५ प्रतिशतमा सिमित छ। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भने गत वर्षको तुलनामा २३ प्रतिशतले घटेको छ। उपनिर्देशक आचार्यका अनुसार विदेशीको मुख्य लगानीको क्षेत्र पर्यटन व्यबसाय ध्वस्त जस्तै वैदेशिक लगानी घट्नुको मुख्य कारण हो।
Facebook Comment