अन्तरिम आदेश दिन अस्वीकार गरेका प्रधानन्यायाधीश केहीबेरमै प्रधानमन्त्रीसँग एउटै मञ्चमा

डिसी नेपाल
८ पुष २०७७ १५:३९

काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले एउटै मञ्च साझा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका हुन् । विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो । समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।

प्रधानन्यायाधीश जबराले सर्वोच्चमा परेका संसद विघटनविरुद्धका सबै रिटहरुलाई आज आफ्नै एकल इजलासमा पेशी तोकेका थिए । आज ती सबै रिटहरुमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले सबै रिटहरु संवैधानिक विषयसँग सम्बन्धित भएको ठहर गर्दै संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएका हुन् । संसद विघटनविरुद्ध १२ रिट परेका छन् ।

संवैधानिक इजलास ५ जना न्यायाधीशहरुको संयुक्त इजलास हो । संवैधानिक इजलासको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् । प्रधानन्यायाधीशको अध्यक्षतामा हुने इजलासका अन्य ४ जना न्यायाधीश प्रधानन्यायाधीशले नै तोक्छन् ।

संवैधानिक इजलासको लागि सर्वोच्च अदालतमा तयार गरिएको रोष्टरमा न्यायाधीशहरु दीपक कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मीरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्ल छन् । प्रधानन्यायाधीशले यिनै मध्ये ४ जना न्यायाधीश संवैधानिक इजलासको लागि तोक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *