सरकार बन्नसक्ने ठाउँ भएसम्म संसद विघटन हुँदैनः नेतृ भुषाल

डिसी नेपाल
८ पुष २०७७ १८:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाएकी छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ भुषालले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् ।

उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् । उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् ।

वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ ।

उनले भनिन्,‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । यदि व्यक्तिले चलाउने हो भने किन संविधान चाहियो ? मुलुकले प्रणालीअनुसार अघि बढेन भने प्राप्त उपलब्धि धरायशी हुन्छ ।

यो सरकारले संसद विघटन गर्यो, यो गलत काम हो । प्रधानमन्त्रीको विशेषाधिकारको कुरा गरियो, तर संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होईन् । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन् ।’

संसद र कानूनले स्विकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाई छ । संसद विघटन सिफारिश संविधानको कुनै धाराले नचिन्नेपनि उनले दोहोर्याईन् । तर, नेकपा सरकारले संसद विघटनको कदम उठाएर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको उनको भनाई ।

उनले आफूहरुले संसदीय व्यवस्थालाई स्थिर बनाउन चाहेको उल्लेख गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानतः नमिल्ने बताईन् ।

अब नेपाली कांग्रेसले के गर्छ ? भन्नेबारे प्रश्नमा उनले यसबारेमा वैचारिक बहस सुरु भएको जनाईन् । उनले भनिन्,‘निर्वाचनको वातावरण तय गर्नुपर्छ । हामी निर्वाचनको लागि सधैं तयार छौं । तर, हामी अदालतको निर्णय कुरेर बसेका छौं । २०७२ को संविधान जारी भएपछि भएको चुनावको बेलामा पनि हामीले एउटा पार्टीलाई स्पष्ट बहुमतको जनादेश दिनुपर्छ भनेका थियौं ।

मुलुकको विकास र समृद्धिको लागि अनि स्थायित्वका लागि पनि संविधानसभा जितेको तर कांग्रेस हारेको थियो । संविधान कार्यान्वयनको पक्षमा हामी छौं । राजनीतिक अस्थिरताको मूल्य जनताले चुकाउनुपर्छ ।’

उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन् । उनले भनिन्,‘जबसम्म सरकार बन्नसक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन् । अदालतको निर्णय पर्खनुपर्नेछ । संसद पूर्नस्थापना गर्ने सम्भावना छ । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । सिस्टमले मुलुकलाई चलाउँछ ।’

उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *