पन्ध्र बर्षअघिको त्यो ‘जनमत’
केही दिनदेखि नेपालको राजनीति झन् अनिश्चयको बाटोतिर दौडिन थालेको छ। यसको गति तीब्र भएकाले दौडिएको शब्दको प्रयोग गरेको हुँ। यो रफ्तारले ल्याउने परीणामका लागि केही समय अवश्य कुर्नु पर्ला तर यहाँसम्म ल्याउन भूमिका खेल्नेहरुका कर्तुत कम्ति लाजमर्नु छैनन्। केही दिनअघिका रमितालाई हेरौं।
संवैधानिक बन्दोबस्तको पूर्ण वेवास्ता गरी संवैधानिक परिषदको बैठक बोलाई देश हाँक्ने निकायको हाकिममा आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यले आफ्नो नजिकको व्यक्तित्व छान्ने, अनियमितताको छानबिन गर्न आयोग गठन गर्ने र सो आयोगको आयुक्तनै अनियमितताको प्रतिनिधित्व गर्ने व्यक्ति हुने।
त्यसैगरी कहिले ओली, कहिले प्रचण्ड, कहिले देउवा त कहिले राजाको पक्षमा नारा लगाउने तर सिंगो नेपाल र नेपालीको विकासका पक्षमा केही नबोल्ने। विकासवादको सिद्धान्तलाई आधार मानी मिलीजुली दिगो विकासको बाटोतर्फ नलाग्नेजस्ता काममा नै सिमित छ हाम्रो देशको राजनीति। राजनैतिक स्थिरता नभएको कारणले बिदेशी शक्तिले समेत आन्तरिक मामिलामा देशको हित प्रतिकुल चाल चल्न सक्ने वातावरणलाई टेवा प्रदान गरिरहेको छ।
२०६२ देखि २०७७ सम्मको १५ वर्षको अन्तरालमा फेरि अस्थिरतातर्फ हामी सारा नेपाली धकेलिसकेका छौँ । जनमतको आजको दिनको प्रतिक्रिया, ‘राजनेताहरुको आर्थिक मोहको कारण राजनैतिक अस्थिरता भएको र देशले दिगो विकासको बाटो समात्न नसकेको’, भन्ने नै छ। १५ वर्षको अन्तरालमा समेत जनताको भनाइ जस्ताको त्यस्तै छ। बल्ल १५ वर्षअगाडि मैले बुझ्न नसकेको वाक्यको व्यवहारिक अर्थ महसुस गरेको छु।
देशमा भ्रष्टाचारी र अनैतिक चरित्र भएका व्यक्तित्वहरुको सिण्डिकेट नै राजनैतिक समस्याको मूल कारण हो। पक्ष वा प्रतिपक्ष दुबैको भित्री मिलेमतोमा भ्रष्टाचारको प्रचण्ड रापले बिनासकारी रुप लिसकेको छ। सत्ता, पैसा र शक्तिजस्तो भौतिक तत्वहरुको खोजीमा मात्र सीमित छन् हाम्रा प्रिय राजनेताहरु।
व्यक्तिगत स्वार्थलाई किनारा लगाई सिंगो देशको विकासको बाटोतर्फ उन्मुख नभएको हुँदा, जनमतको अपमानले जनतामा निराशाको बादलजस्ताको त्यस्तै नै छ। अहिले युवा उमेरमा मैंले भोगेको देशको अवस्था मैंले मेरो वाल्यकालमा देखे, सुनेको भन्दा फरक छैन।
सानो छँदा, घरमा, कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ८ बजेको समाचार सबै मिली हर्ने चलन थियो। घरमा एउटामात्र टिभी भएको र ८ बजेको समाचार आउने समयमा प्रायजसो ठूलाबडा घरमा नै हुने हुँदा, ८ बजेको समाचार सधैँजसो हेर्ने गरिन्थ्यो।
प्रमुख समाचारपछि जनमत भनेर समाचारकै एउटा भाग आउँथ्यो। त्यस भागअन्तरगत सर्वसाधारण जनतालाई देशको सामाजिक, आर्थिक र राजनैतिक कारणले नागरिक समाजमा उत्पन्न हुने फाइदा र बेफाइदाको बारेमा प्रश्न सोध्ने गरिन्थ्यो। त्यस जनमत खण्डमा जानुअगाडि सम्वाददाताले भन्ने गर्थे, ‘अब जनमतको पालो। हेरौँ उनीहरुको भनाइ जस्ताको त्यस्तै’।
यो जस्ताको त्यस्तै भनिने शब्दको अर्थ थापाउन मलाई केही समय लाग्यो। र, समयको अन्तरालमा यो जस्ताको त्यस्तैको व्यवहारिकताको नमिठो अनुभव पनि पाएँ। राजनेताहरुको अर्थमोहको कारण राजनैतिक अस्थिरता भएको र देशले दिगो विकासको बाटो समात्न नसकेको भनाइ नै जनमतको सारांश हुन्थ्यो त्यो बेला पनि।
इतिहासका पाना पल्टाएर २०६२–६३ को आन्दोलनतिर फर्केर हेर्दा, मेरो उमेर १४–१५ वर्षको थियो। देशमा राजतन्त्रका बिरुद्ध र बहुदलीय प्रजातन्त्रको आह्वान गर्दै आन्दोलनको सुरुवात भएको थियो।
दशबर्ष लामो ससस्त्र संघर्षपश्चात नेकपा माओवादीसमेत मिलेर राजतन्त्रका बिरुद्ध प्रचण्डपथ र प्रजातान्त्रिक गणतन्त्रको पक्षमा नाराबाजी चल्थ्यो र अन्तत २६ शहीदको बलिदान र ठूलो आर्थिक जनधनको क्षतिपश्चात नेपालमा २०० वर्ष पुरानो राजतन्त्रको अन्त्य र गणतान्त्रिक नेपालको अन्तरिम संविधान २०६३ समेत ल्याइयो।
अन्तरिम संबिधानलाई पूर्ण संविधानमा परिणत गर्न १० वर्ष लाग्यो र २०७२ मा गणतान्त्रिक नेपालको पहिचानका साथ संबिधान पारित गरियो। सोसँगै संवैधानिक बन्दोबस्तअनुसार आम निर्वाचन सम्पन्न भयो र ससस्त्र संघर्षताका एकअर्काका ज्यानी दुस्मन नेकपा माओवादी र नेकपा एमाले एकीकृत भई बनेको नेकपाले बहुमतका साथ चुनावमा जित हासिल गरेर ५ वर्षे सरकार चलाउने र नेपालको संबिधान र जनताको अपेक्षाबमोजिमको नयाँ नेपाल बनाउने जिम्मा पाए। यो ऐतिहासिक जित पूरा विश्वसामु नै एकताको प्रतीकको रुपमा चिनिन पुग्यो, चिनाइयो।
तर, तीनबर्ष पनि नपुग्दै अहिले नेकपाको आन्तरिक बिवाद, शक्तिको होडबाजी र नपुंसक प्रतिपक्षीहरुका कारण संसद बिघटन गरी नेपाल र नेपालीको भविष्य पुनः अन्धकारतर्फ धकेलिएको छ।
२०६२ देखि २०७७ सम्मको १५ वर्षको अन्तरालमा फेरि अस्थिरतातर्फ हामी सारा नेपाली धकेलिसकेका छौँ । जनमतको आजको दिनको प्रतिक्रिया, ‘राजनेताहरुको आर्थिक मोहको कारण राजनैतिक अस्थिरता भएको र देशले दिगो विकासको बाटो समात्न नसकेको’, भन्ने नै छ। १५ वर्षको अन्तरालमा समेत जनताको भनाइ जस्ताको त्यस्तै छ। बल्ल १५ वर्षअगाडि मैले बुझ्न नसकेको वाक्यको व्यवहारिक अर्थ महसुस गरेको छु।
यो बीचमा अध्ययनको सिलसिलामा भारत र अष्ट्रेलियासमेत पुगेर फर्किसकेको मैंले, देशमा राजनैतिक संस्कार त टाढाको कुरा जनताका दैनिक समस्या समाधानमा समेत कुनै सकारात्मक विकासको महसुस गर्न सकेको छैन। लावारिस शवलाई गिद्धले लुछे जसरी नेपाल आमालाई पालै पालो लुछिरहेका छन् हाम्रा दिग्गज नेताहरुले।
जंगल, झुपडीबाट नेपालको मुहार फेर्ने प्रतिबध्दता जनाउँदै महलतर्फ आएका हाम्रा निडर नेताहारुलाई बिश्वास गरी देश चलाउने जिम्मा दिँदा, स्वार्थीहरुले केवल आफ्नो भलोमात्र चिताएर नेपाल र नेपालीमाथि विश्वासघात गरेका छन्। यति हुँदा हुँदै पनि कुनै दिन जनमतको आवाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने आशा भने अझै हराइसकेको छैन।
(पन्तले अष्ट्रेलियाबाट कानुनमा स्नातकोत्तर गरेका छन् )
Facebook Comment