संसद विघटनको विषयमा भारत के भन्छ ? पूर्व राजदूतले देखाए राजतन्त्र फर्किने सम्भावना

डिसी नेपाल
९ पुष २०७७ १२:५१

काठमाडौं। नेपालमा संसद विघटन भएको आज ५ दिन भएको छ । तर, यो अवधिमा भारतले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, यही बीचमा नेपालका लागि भारतीय पूर्व राजदूत मञ्जीभसिंह पुरीले भारतले नेपालमा संसद विघटन भएको विषयमा केही नबोल्नुमा खास कारण रहेको बताएका छन् । यद्यपि उनले त्यो कारण के हो भन्ने खुलाएका छैनन् ।

भारतीय अखबार दैनिक ट्रिब्युनमा एक लेख लेख्दै पुरीले नेपालमा राजतन्त्र फर्किने सम्भावना देखाएका छन् । राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्व राजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादहिरुको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्व राजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्ने पुरीले संकेत गरेका छन् ।

पूर्व राजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न नसकिने बताउँदै पुरीले लेखेका छन् ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए ।

पुरीले संसद विघटनको विषयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिएको हुन सक्ने बताउँदै यसको प्रमाणको रुपमा हालै सरकारले गरेका सिफारिसलाई अघि सारेका छन् । सरकारले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्दा देउवाले नाम पठाएका व्यक्तिहरु पनि सिफारिसमा परेका छन् ।

पुरीले नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नुलाई पनि प्रश्नको घेरामा राखेका छन् । संसद विघटन कांग्रेसका लागि भगवानले दिएको उपहारको रुपमा विश्लेषण गर्दै उनले यसले कांग्रेसलाई निर्धारित समयभन्दा अगावै सरकारमा जाने अवसर सृजना गरेको बताएका छन् । यसले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीमा भइरहेको नेतृत्वको आलोचना मत्थर पार्न पनि सघाउने पुरीको विश्लेषण छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *