पार्टी कार्यालय कब्जा गर्ने होडवाजी, धुम्बाराही ओलीले कब्जा गरेपछि प्रचण्डहरु मदन नगर बल्खु पुगे

डिसी नेपाल
९ पुष २०७७ १७:२३

काठमाडौं। नेकपा विभाजन भएसँगै पार्टी कार्यालय कब्जा गर्ने होडबाजी शुरु भएको छ। नेकपा ओली समूहले धुम्बाराहीस्थित पार्टी मुख्यालय कब्जा गरेपछि नेकपा प्रचण्ड–माधव समूहले मदननगर बल्खुस्थित तत्कालिन एमालेको मुख्यालय कब्जा गर्ने तयारी गरेको छ।

बिहीबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल मदन नगर बल्खु पुगेका छन्। उनीहरुले त्यहाँ पुगेर मदन भण्डारीको शालिकमा माल्यापर्ण गर्दै पार्टीलाई एक ढिक्का बनाउने कसमसमेत खाए।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बल्खु पुग्नुको उद्देश्यबारे डिसी नेपालसँग भने, ‘हामी आधिकारिक नेकपा हौं। यहाँको पार्टी कार्यालय हाम्रो हो भन्ने सन्देश दिन यहाँ आएका हौं। यो पार्टी कार्यालय भवनको मर्मत गर्नुपर्ने अवस्था छ। त्यसबारे पनि जानकारी लिन यहाँ आएका हौं।’

नेता खनालले नेकपा ओली समूहलाई सरकारी नेकपा भएको संज्ञा दिए। उनले भने, ‘आधिकारिक नेकपा हामी हौं। उता बालुवाटारमा सरकारी नेकपा गठन भएका सुनेका छौं। तर, हामी नै आधिकारिक हौं।’

नेकपा विभाजन भएसँगै पार्टी कार्यालयहरु कब्जामा लिन दुबै समूह सक्रिय भएका छन्। ओली समूहले आइतबार नै धुम्बाराहीस्थित पार्टी कायालयमा ताला लगाएको थियो।

विभिन्न जिल्लाहरुमा पनि पार्टी कार्यालय कब्जामा लिने काम भइरहेको छ। कार्भे, नवलपरासी, कैलालीलगायतका जिल्लामा दुबै समूहले पार्टी कार्यालयमा कब्जा जमाइसकेका छन्। आगामी दिनहरुमा पनि पार्टी कार्यालय कब्जा गर्ने होडवाजी चल्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *