पिठ्यूँमा थाल टाँसेर कुकुरले टोकेको उपचार
लहान। कुकुर र स्यालले टोकेको उपचार गर्न पिठ्यूँमा थाल टाँसेको देख्नु भएको छ? छैन भने सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १० को गुदिगाउँमा जानुभयो भने आफ्नै आँखाले हेर्न पाउनु हुन्छ। लहान बजारबाट उत्तर दुई किलोमिटर पिचैपिच जानुभयो भने गुदिगाउँ पुगिन्छ। यहाँ सडकको छेऊमै पिठ्यूमा थाल टाँसेर कुकुरले टोकेको उपचार गरिँदैछ।
२१ औं शताब्दी शहरमा पनि अन्धविश्वास कायमै छ भन्ने यो ज्वलन्त उदारहण हो यो। कुकुरले टोक्दा रेबिज रोग लाग्दछ। यो विरामी निको हुनका लागि पेटमा रेविजविरुद्धका खोपहरु केही दिनसम्म घोपेपछि मात्र निको हुन्छ भन्ने डाक्टरहरुले बताउने गरेका छन्। पेटमा सुई घोच्दा कत्तिको दर्द हुन्छ? धेरै मानिस रेबिज लाग्ने डरले कुकुरदेखि टाँढैं बस्दछन्। गाउँघरमा छाडा कुकुरहरुको विगविगी भएको स्थानमा त झनै मानिस कुकुरको टोकाइबाट रेबिज लाग्यो भने कुकुरको जस्तै व्यवहार गर्ने खालको हुइन्छ भनेर असाध्य डराउँछन्। तर त्यति डराउँदा डराउँदै पनि गुदिगाउँमा कुकुरले टोकेका छिमेकी गाउँहरुबाट उपचार गर्न दिनहुँजसो आउने गरेका छन्।
कुकुर र स्यालले टोकेकाहरुलाई थाल टाँसेरै उपचार गर्ने यी धामी लहान नगरपालिका १० का राजेन्द्र पासमान हुन्। उनले २०५०—५१ सालदेखि नै यो पेशा गर्दै आएको बताएका छन्। अहिलेसम्म २ हजार भन्दा बढीको यसरीनै उपचार गरेर निको पारेको बताउँछन्।
धामीले कति सजिलै भन्छन्, ‘केही गर्नु पर्दैन, थाल ल्यायो, त्यसमा मन्त्र पढ्यो र त्यो थाल पिठ्यूँमा टाँसिदियो पुग्यो। ’ साच्चिकै काँसको थाल पिठ्यूँमै टाँसेका छन्। थप विरामी आएभने टाँस्नका लागि नजिकै थालहरु राखेका पनि छन्। एकै पटक सात जना आएपनि उपचार हुन्छ भन्छन्।
धामीका अनुसार कहिलेकाँही विरामी आफैले पनि थाल लिएर आउँछन्। बिष नहुनेको थाल टाँसिदैन र खुसी भएर घर फर्किन्छन्। धामीको उपचार गर्ने समय विरामीलाई लागेको विष अनुसार फरक फरक हुँदो रहेछ। धामी पासवान भन्छन्, ‘प्रत्येक दिन १० देखि १५ मिनेट थाल टाँसेर तीन दिनसम्म उपचार गर्न आउनु पर्दछ। तर धेरै विष भएकाको पिठ्यूँमा आधा घण्टादेखि एक घण्टासम्म थाल टाँसिने गरेको छ।’
उपचार गर्ने तरिका कसरी थाहा पाउनु भयो ? भन्ने प्रश्नको उत्तर झनै अन्धविश्वासमा आधारित रहेको जस्तो दिन्छन्। गज्जब छ उनको तर्क। उनी भन्छन्, ‘म २५ बर्षको हुँदा सपनामा यसरी यसरी उपचार गरीस भने हुन्छ भनेर भगवानले भने त्यसपछि मैले उपचार गर्न शुरु गरेँ।’
सामान्यतया कुनै तालिम लिएर उपचार गरेको हामीले सुनेका छौं तर यी धामीले सपनाको भरमा उपचार गर्न सिकेको बताउँदा कसले पत्याउने ? तर दुई हजार भन्दा बढी विरामी र उनका अभिभावकले पत्याइरहेका छन्। वरपरको दश गाउँले पत्याइएको छ धामीलाई। के यो उपचार पद्दती ठीक हो त ? स्थानीय स्तरमा यो उपचार डाक्टरहरुले देखेका छैनन् ? स्थानीय जनप्रतिनिधि, चेतनशील समाजले यो बर्षौदेखि देखिरहेका छन्। तर सबैलाई सामान्य लागिरहेको छ। अझ विरामी निको भएको भनेर धामीको उपचार गर्ने अवधि २६ बर्ष पुरा भइसकेको छ। उपचार मै सिल्भर जुब्ली मनाइसकेका छन्।
‘थाल पनि टाँस्छु र पछि विष लागेको छ भने जडिबुटीको औषधि पनि दिन्छु। त्यो जडिबुटीको औषधि गोप्य छ। केबाट बनाएको भन्न मिल्दैन,’ धामीको दावी छ। तर औषधी गोप्य ? के यो कानून सम्मत छ ? रेबिजको उपचार गर्ने सरकारी निकायले के हेरेर बसेको छ ? वरपर कोही त होला ? नियमन गर्ने ?
Facebook Comment