मूल पार्टी र मूल घर नै हामी हौँः सुरेन्द्र पाण्डे

डिसी नेपाल
११ पुष २०७७ २०:३८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको भेलामा उनले विधि, पद्धति, कानून र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताए । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ ।”

पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थपे, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।” उनले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पारे । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानाको विकल्प नभएको बताए ।

नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताए । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने औँल्याइन्। कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *