नेपालमा बढ्यो चिनियाँ चासो, चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाडौँ आउँदै

डिसी नेपाल
१२ पुष २०७७ ८:०४

काठमाडौं। सत्तारुढ दल नेकपा दुई समूहका विभाजित बनेपनि नेपालमा उत्तरी छिमेकी चीनको चासो ह्वात्तै बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछिको परिस्थितिका बारेमा चासो व्यक्त गर्दै चिनियाँ कम्युनिट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदै छ।

नेकपाको फुटको अवस्थालाई मध्यनजर गर्दै सरसल्लाह र सम्भावित मध्यस्थताका लागि चिनियाँ अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँ आउन लागेको हो। उक्त टोली चार दिनसम्म काठमाडौँमा रहने जनाइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै समूहको नेतृत्व र कांग्रेसका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।

नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि बढेको छ। नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुनः नेकपा एकताको सम्भावनाबारे चासो राख्ने गरेको नेताहरुले बताएका छन्।

संसद बिघटन पछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी यान्छीले नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, सोही समूहका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा र वर्षमान पुनसँग भेट गरीसकेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *