नेपालमा सैनिक ‘कू’ आवश्यकता कि रहर ?
हरेक परिवर्तनको साक्षी र सारथी रहँदै आएको नेपाली सेना अहिले धर्म संकटमा परेको छ। सुन्दर शान्त र सम्वृद्ध मुलुकको सबैभन्दा ठूलो सपना र रहर नेपाली सेनालाई छ।
किनभने ऊ विश्वका विभिन्न समस्याग्रस्त मुलुकमा पुगेर अरु मुलुकका सेनासंग दाँजिएर निःशस्त्रीकरण र शान्ति स्थापनाको काम गरिरहेको छ। उसलाई सान र मानको स्वाभिमान सैनिक भएर उभिने रहर छ।
स्वदेशकै डिउटी पनि कम बोझिलो र जोखिमपूर्ण छैन। सगरमाथा, लाङटाङ, डोल्पा, रारा खप्तडको ४/५ फिटको हिँउमा ठिङ उभिएर ऊ पहरा दिइरहेको छ। चितवनको गैंडा बाघ रक्षाको काम ज्यादै जटिल र जोखिमपूर्ण छ।
प्रकृति संरक्षण डिउटीमा मात्र सेनाले १३३ जना सैनिकको ज्यान गुमाएको छ। त्यत्रो दुःखले बचाएको प्रकृति र प्रकृतिको उपहारमाथि हाल तीव्र प्रहार जारी छ। विकट हिमाल पहाड खोपेर उत्तरी सीमासम्म बाटो पुर्याउने कामको दुःख र क्षति उस्तै धेरै छ।
बिपद् यो मुलुकको नियति बनेको छ। उद्धार, राहत, पुननिर्माणमा आफ्नो ज्यान नभनी त्याग गर्न हामफाल्ने सेनाको आफ्नै अंगभंग र ठूलो क्षति भएको छ। केही बर्षअघि रामेछाप फायर फाईटिङमा १६ जना लक्का जवानलाई आगोको लप्काले एकै गाँस बनाएको दुःखद घटना मानसपटलमा ताजै छ।
अहिले नेपाली सेना धर्मसंकटमा छ। महामारीले लपेटिएका आम जनताको उद्धार उसको पहिलो प्राथमिकता हो। आफ्नै टेलर माष्टरले सिलाएको एउटै डाङ्ग्री (पि.पि.ई) र एउटै मास्क लगाएर ऊ आफू जोखिमको भुंग्रोमा हाम फालेर शव व्यवस्थापन गरिरहेको छ।
३ वर्ष अगाडिको कुरा हो। प्रधानसेनापतिको नाम लिएर धनकुटा हिलेमा जिल्लाका पूर्वमन्त्री एवं वर्तमान माननीय सांसद आउनुभयो। बाहिनीपतिको हैसियतले मैले उहाँलाई राम्रो स्वागत र आतिथ्यता गरेँ। भोलिपल्टबाट उहाँका बिचौलियाहरु १० र २० जनाको भर्ना चिट् लिएर ढोका धाउन थाले र भने-‘मन्त्रीज्यूका भित्रिया कार्यकर्ता। जसरी पनि भर्ना गरिदिनुपर्यो।’
महामारीलाई नटेर्ने र माथ गर्ने आन्तरिक कलह र आन्दोलनले बालेको आगोको लप्काले उसलाई सेकिरहेको छ। आगो लगाउने र निभाउनेहरु सबै सेनालाई उक्साइरहेका छन्– ‘सेना अन्तिम शक्ति हो। देश बलिसक्यो र सेनाले देश जोगाउनुपर्दछ। सैनिक ‘कू’ गर्नुपर्दछ।’
हिजो सेनालाई हेय दृष्टिले हेर्ने, हेप्ने र राजनीतिकरण गर्न खोज्नेहरु एक कदम अगाडि बढेर तीखो स्वरमा भन्दै छन्– ‘सबै लाछी भए। सेना लाछी हुनु हुँदैन।’
नागरिक सर्वाेच्चता
सबै परिवर्तनको हामीले उत्सव मनायौं। विजय जुलुस, सिन्दूर–अविर जात्रा, आदि आदि। अरु उत्सव छाडिदेउ र २०६२/६३ को परिवर्तनको ताजा खुशियाली स्मरण गरौं।
परिवर्तनको लगत्तै सिभिल सुप्रिमेसीको नाममा नव–शासकहरुका दलाल र बिचौलियाहरु खुलेयाम भन्दथे–‘सेना नागरिक नियन्त्रणमा छ। छिटो समावेशीकरण गर। छिटो प्रजातान्त्रिकरण गर। प्रधानसेनापति हामीले बनाउने हो आदि इत्यादि।’
उम्लिएका र भुँईमा खुट्टा नटेकेका कुनै पनि नेताको नेतृत्वमा बनेका यसबीचका सरकारले यो सोचेन कि ‘परिवर्तनको मुलुकप्रति दायित्व छ। गहिरो जिम्मेवारी छ। र, जवाफदेहिताले परिवर्तनको पुष्टि गरेर देखाउनु छ।’
सिभिल सुप्रिमेसीको अनर्थ लगाएर सेनामाथि शासन गर्न रक्षा मन्त्रालय अग्रसर भयो। प्रधानमन्त्रीको कार्यालय अघि सर्यो। परमाधिपतिको हक् दावी झन् उम्लियो। राजनीतिक दल र दलका नेताहरु समेतले आफ्नो अंश खोज्न थाले। उनीहरुको सिभिल सुप्रिमेसीको बुझाइ आ–आफ्नो शिक्षा, सचेतना, संस्कार र सभ्यताअनुसारको थियो।
भर्नामा राजनीतिक कार्यकर्ता छिराउन खोज्ने। समावेशीका नाममा अयोग्य, असक्षम, अनिच्छुक भोटब्याङ छिराउने। भोटर्स सैनिकलाई मतपेटिका राखेको ईलाकामा सरुवा, काज, छुट्टी मिलाएर लैजाने।
भोट ब्याङलाई पालो मिचेर शान्ति सेना पठाउने। उद्धार र राहतका नाममा सैनिक हवाई साधन चढेर पार्टीको फुँई र धक्कु लगाउने जस्ता विकृतिका सुत्रधार यिनै नेताहरु भएका होइनन् र?
अन्य संगठनको नक्कल गरेर नेपाली सेनामा पनि दोश्रो तेश्रो बरियताको मानिस उचाल्ने बोक्ने र बैना माग्ने अभ्यास पनि नभएको होइन। एउटा अनुशासित, संगठित र चेन अफ् कमाण्डमा बाँधिएको सेनालाई नियन्त्रण गर्न हामी नागरिकको जनप्रतिनिधि र त्यहाँबाट बनेको सरकारले अनुशासित, संवेदनशील र जवाफदेही रहनुपर्दछ भन्ने थोरै हेक्कासमेत राखेको देखिएन। बिडम्बना, बरु त्यसलाई दाउने, घोडा चढ्ने र भिरको बाटो कुदाएर दुर्घटना गराउने नियतको नागरिक नियन्त्रण देखियो सेनामाथि। त्यसैले आज ‘सिभिल सुप्रिमेसी’ होइन ‘मिलिटरी सुप्रिमेसी’ चाहियो नेपालमा भन्ने उल्टो नाराको जन्म भयो।
३ वर्ष अगाडिको कुरा हो। प्रधानसेनापतिको नाम लिएर धनकुटा हिलेमा जिल्लाका पूर्वमन्त्री एवं वर्तमान माननीय सांसद आउनुभयो। बाहिनीपतिको हैसियतले मैले उहाँलाई राम्रो स्वागत र आतिथ्यता गरेँ।
भोलिपल्टबाट उहाँका बिचौलियाहरु १० र २० जनाको भर्ना चिट् लिएर ढोका धाउन थाले र भने- ‘मन्त्रीज्यूका भित्रिया कार्यकर्ता। जसरी पनि भर्ना गरिदिनुपर्यो।’
हार्दिक र आत्मीय सम्बन्ध भएका ती माननीयसँग त्यसबेलादेखि टुटेको आफ्नो सम्बन्ध आजसम्म जोड्ने रसायन भेटिएको छैन। सिभिल सुप्रिमेसीको दुरुपयोग र बिचौलियाहरुको हर्कतको यो एउटा तीतो अनुभव उदाहरणको लागि मात्र प्रस्तुत गरेको हुँ।
केन्द्रीय तहमा सैनिक नेतृत्वको मानमर्दन गर्ने र संसदीय समितिमा हाजिर गराएर नागरिक सर्वोच्चताका नाममा असम्बन्धित, गैरव्यवसायिक कुराहरु गरेर सेनाको साखमा धावा बोल्ने र दुःख दिने गरेका दृश्यहरु सबैले देखे सुनेकै हो। लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता, धर्म आस्थाको सम्मान र रक्षा होइन त्यसलाई धुलोपिठो खरानी पारेर रसातलमा पुर्याएको परिणति हो आजको यो दुर्दशा।
अन्य संगठनको नक्कल गरेर नेपाली सेनामा पनि दोश्रो तेश्रो बरियताको मानिस उचाल्ने बोक्ने र बैना माग्ने अभ्यास पनि नभएको होइन। एउटा अनुशासित, संगठित र चेन अफ् कमाण्डमा बाँधिएको सेनालाई नियन्त्रण गर्न हामी नागरिकको जनप्रतिनिधि र त्यहाँबाट बनेको सरकारले अनुशासित, संवेदनशील र जवाफदेही रहनुपर्दछ भन्ने थोरै हेक्कासमेत राखेको देखिएन।
बिडम्बना, बरु त्यसलाई दाउने, घोडा चढ्ने र भिरको बाटो कुदाएर दुर्घटना गराउने नियतको नागरिक नियन्त्रण देखियो सेनामाथि। त्यसैले आज ‘सिभिल सुप्रिमेसी’ होइन ‘मिलिटरी सुप्रिमेसी’ चाहियो नेपालमा भन्ने उल्टो नाराको जन्म भयो।
जनताको होइन पूर्व, वर्तमान र भावी भनाउँदा स्वाभिमान विक्री भइसकेका शासक र नेताहरुको सुनियोजित र गहिरो योगदान छ यो विपरीत बुद्धि र चक्रमा।
१५ वर्षको अन्तरालमा आजसम्म ५ पटक भयो नेपाली सेनालाई ‘कू’ गर्न उक्साइएको। तर, सेनाले भू–राजनीतिक अवस्था, सामाजिक सांस्कृतिक परिवेशलगायत विदेश सम्बन्धको पाटो सबै अध्ययन विश्लेषण गरेर यो सुनियोजित धरापबाट आफू बच्दै आएको छ।
र, मुलुकलाई थप अस्थिरतामा धकेलेर अपुरणीय क्षति हुनबाट जोगाउँदै आएको छ। यस अर्थमा सिद्धान्ततः नेपाली सेनाले २ वटा धर्म व्यवहारमा पालना गरेको छ। पहिलो, सेना हमेसा अराजनीतिक रहनुपर्दछ र यसमा राजनीतिक बाछिटा समेत पर्न दिनु हुँदैन भन्ने बीणा थामिएको छ।
सबै नेतृत्वहरुको सामुहिक पहल, प्रयास र उच्च सावधानीले संगठनलाई जोगाउँदै आजका विन्दुसम्म पुर्याइएको छ। दोश्रो, राजनीतिक रङको आन्तरिक र बाह्य उक्साहट्मा लागेर मुलुकको यो अराजनीतिक अन्तिम शक्तिलाई प्रत्यक्ष शासनको महत्वकांक्षा बोकेर अघि सर्नबाट सदैव सावधानी र सतर्कता अपनाउँदै आएको छ।
त्यसैले नेपाली सेनाले, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा, आफ्नो वजन र गरिमा बढाएको छ। सेनाको त्यो परिपक्वता, धैर्यता र सिभिल सुप्रिमेसीको सिद्धान्त र अभ्यासलाई कमजोर अथवा लाछी सेनाको संज्ञा दिइनुहुँदैन। बरु उसको त्यो विवेक र दूरदर्शिताको सम्मान गरिनुपर्दछ भन्ने पंक्तिकारको सुझाव हो।
धर्म संकटको तुलो
धुमधाम् उत्सव र बाजा–गाजाका साथ राजाका ठाउ“मा आसनग्रहण गराएका राष्ट्रपतिहरुले अराजनीतिक छवि प्रदर्शन गरेर संविधानको रक्षा गर्नुपर्दथ्यो। मुलुक र मुलुकबासीहरुको स्वामित्व लिने साझा अभिभावक र संरक्षक हुनुपर्दथ्यो।
राष्ट्रिय एकताको प्रतीक भएर सैनिक संगठनलाई परमाधिपतिको अपनत्व प्रदान गर्नुपर्ने थियो। तर परिवर्तनले मागेको के थियो? जनअपेक्षा कस्तो थियो र व्यवहारमा यो सर्वोच्च संस्था सँधै किन बच्चाको खेलौना भयो?
र, सँगसँगै नेपाली सेनालाई पहिलो धर्मसंकट ∕ परमाधिपतिसँगसँगै सती जानुपर्ने बाध्यता पनि थपिएकै हो। तर, सेनाले बनाएको र स्थापना गरेको संस्था होइन त्यो। बरु संविधानले परिकल्पना गरेको जनता कै नासो हो त्यो। सेनाले के गरोस्?
संविधानको हत्या भइसक्यो। अब कुन र कस्तो कसको संविधानको मुनि रहेर चल्नुपरेको छ सेनालाई? अर्को उक्सावट्। अर्को धर्मसंकट। सेनाले बनाएको र लागू गरेको संविधान हो थोरै यो? असंवैधानिक सरकार अथवा ‘नो सरकार’ वा ‘शक्ति शून्यता’ मा के हेरेर बसेको छ यो सेना?
थाई, बंगाली, पाकिस्तानको मोडलमा राष्ट्र उद्धारको अभ्यास किन गर्दैन यो सेना? अर्को उक्सावट यस्तो पनि छ र धर्मसंकटमा पार्न पनि खोजिएको छ। यो परिस्थिति सृजना र निर्माण थोरै सेनाले गरिदिएको हो र?
लोकतान्त्रिक गणतन्त्रका नायकहरुले मुलुक भसाउदै, बेच्दै, चुस्दै जाने अनि हिजो औंलामा नगनेको र पल्लो भित्तामा पुर्याएको सेनाले ती तमाम् परदेश सेवामा लिप्त शासकहरुलाई सलामी र मलामी गर्दै जानुपर्ने? जस्ता प्रश्नहरु तेस्र्याएर कुरा गर्ने लोकतन्त्रवादीहरु यतिबेला छ्यापछ्याप्ती भेटिन थालेका छन्।
१५ वर्षको अन्तरालमा आजसम्म ५ पटक भयो नेपाली सेनालाई ‘कू’ गर्न उक्साइएको। तर, सेनाले भू–राजनीतिक अवस्था, सामाजिक सांस्कृतिक परिवेशलगायत विदेश सम्बन्धको पाटो सबै अध्ययन विश्लेषण गरेर यो सुनियोजित धरापबाट आफू बच्दै आएको छ। र, मुलुकलाई थप अस्थिरतामा धकेलेर अपुरणीय क्षति हुनबाट जोगाउँदै आएको छ।
कथित जनयुद्ध र जनआन्दोलनका नायकहरु ३/३ वटा प्रधानमन्त्रीकालको आज्ञाकारी सेवक यही सेना। पुनर्गठनका नाममा सेना खारेज गर्ने पूर्वाग्रही कांग्रेसका तमाम प्रधानमन्त्रीत्वको सेवक यही सेना। पञ्चायत, संवैधानिक राजतन्त्र, सक्रिय राजतन्त्र सबै शासकको नुनको सोझो गर्ने उही शाही सेना।
कहिले एमाले अहिले नेकपा शासकको रक्षक, समायोजन बेहोरेको नयाँ राष्ट्रिय नेपाली सेना। जनचाहना र परिवर्तनको अक्षरश पालक। सुधारको तीव्र चाहना। जनहित जनसुरक्षाको पहरा। शान्ति, सम्वृद्धि र सुखको तीव्र आशा र अपेक्षा। संविधानप्रदत्त हक अधिकारको अक्षरश पालना गर्ने एउटा अनुशासित र मर्यादित संगठन हो सेना।
मुलुक अव जोगिन्न भन्ने अवस्थामा वाहेक सेनाले कसरी कू गर्न सक्छ? सेना मुलुक जोगाउने मुलुकको अन्तिम शक्ति हो । अन्तिम शक्तिको प्रयोग जथाभावी हुँदा मुलुकको अस्तित्वमा खतरा आउँछ।
कसैले यो अन्तिम शक्ति प्रयोग गर्ने भइसक्यो भनेर सोच्दैमा सेनाले त्यसलाई मान्ने कुरा आउँदैन। सेनालाई गुहार् गर्नेहरुले बुझ्नुपर्ने कुरा के हो भने अन्तिम अवस्था आएको ठहर देशको सेनाले नगरेसम्म सैनिक कू गरेर कसरी आफ्नो मृत्यूपत्रमा आफैले सही गरोस् एउटा संवेदनशील र जिम्मेवार अन्तिम शक्तिले?
गल्ती पत्ता (फल्स् फाइण्डिङ)
सलाम गरौं आरोप पत्रका रचनाकार विमानचालक दुवै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई। कम्तिमा एकअर्काको मुलुकविरुद्धको अपराधको पोल त खुलेको छ। बाँकी सबै पूर्वप्रधानमन्त्रीहरुको जालझेल अपराध महाअपराध राष्ट्रघात्को पोको अझै खुल्नुपर्छ।
बडो साहस र इमान्दारसाथ त्यो पनि खोलौं। अनि हेरौं किन ती तमाम् नेतृत्वहरुले शासक हुनासाथ देशको माटो र जनतालाई चटक्क बिर्सिए? किन स्वदेशको नुन् खाएर आफ्नो मातृभूमिलाई लात हानेर र बात् गर्दै परदेशस्तुति र परदेशसेवा गरे? सबै उपप्रधानमन्त्री, मन्त्रीगण, प्रशासक, संवैधानिक अंग प्रमुखहरु, परदेशभक्त परदेशद्वारा नियुक्त बुख्याचाहरुलाई नङ्ग्याऊँ।
अरु गल्ती पत्ता लगाऊँ-‘७० वर्षदेखि आजसम्म किन लगातार राजनीतिक आवरणको हस्तक्षेप र आक्रमण? एकपछि अर्को परिवर्तनको उपहार? अनि सबै परिवर्तनको अपहरण ? र, हात लाग्यो सुन्ना र ‘अस्थिरता’ मात्र?’ वाह्य सैनिक हस्तक्षेप र सैनिक आक्रमणविरुद्ध त बहादुरीका साथ लडेकै हो नि नेपाली सेना।
अन्तिम लडाई सैनिक नेतृत्व छत्रमानसिंह गुरुङले तत्कालीन विद्रोहीको पक्षशक्ति अनमिनसँग लडे र इण्टेलिजेन्स एन्टेना ठाडो पारी जरा गाडेर बस्न उद्यत विदेशी सेनालाई जबरजस्त बिदाई गरेकै हो।
तर आफ्नै राष्ट्रघाती नेतृत्वहरुको प्रपञ्चमा आयोजित राजनीतिक हस्तक्षेपको विरुद्ध नेपाली सेनाले ‘रामराम’ पुकार्नुबाहेक अरु के गरोस्?
गल्ती पत्ता लगाउने क्रममा ती तमाम बाह्य हस्तक्षेपले पु-याएको अपुरणीय क्षतिको लेखाजोखा पनि गरुम्-‘२०४६ सालको आन्दोलन, हड्ताल बन्द र राष्ट्रिय क्षति। २०४७ को संविधान लेखन नाटक, कसरत र खर्च। त्यो परिवर्तन र २०४७ को संविधान निल्न आयोजित जनयुद्धको नाटक, कसरत र अपुरणीय क्षतिको विवरण।
२०६२/६३ को आन्दोलनको नाटक, १२ बुंदे राष्ट्रघात् र त्यसले पुर्याएको क्षति विवरण। संक्रमणकालीन नक्कली विद्रोहीको नाटक र राष्ट्रिय ढुकुटीको ब्रम्हलुट। एउटा समूहलबाट पटक पटक डस्टबिनमा फ्याँक्ने र जलाउने कार्य हुँदै आएको नयाँ संविधान लेखनको बाह्य चलखेल र खर्च।
संविधानको हत्या भइसक्यो। अब कुन र कस्तो कसको संविधानको मुनि रहेर चल्नुपरेको छ सेनालाई? अर्को उक्सावट्। अर्को धर्मसंकट। सेनाले बनाएको र लागू गरेको संविधान हो थोरै यो?
वर्तमान महामारीकालको जनस्वास्थ्य उपेक्षा र देश ब्रम्हलुट्को परिणाम र पुनः आम परिवर्तनको न्यारेटिभ् लेखन र तीव्र माग। यी तमाम असफताहरुको जवाफ तत्काल आवश्यक छ देश र जनतालाई।
विद्रोहताकाको बाँकी हतियार मातृभूमिको नसा नसामा लुकाएर सत्तासिन हुने सरकारको नियत् के? विद्रोहीको चोइटो बिप्लब समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा नल्याएर बाहिर र बाह्य शक्तिको पोल्टामा राख्नुको तात्पर्य के?
विद्रोही आन्दोलनरत दलहरु र राजाको त्रिशंकु मिलनविन्दू खोज्ने वाचा गरेर विदेशी भूमिमा हतास १२ बुँदे गरी छल र धोका दिने उनै कथित् शक्तिहरुले ‘राजा आउ देश बचाऊ’ भनेर नागरिक ज्ञानेन्द्र शाहलाई उक्साएको र आफै सहभागी विशाल जुलुसको गुह्य उद्देश्य के?’
सैनिक योगदान, त्याग र बलिदान
आजको नेपाल निर्माण गर्नेदेखि लिएर रक्षा गर्ने जो कोही शासक सत्ता र जनताको इमान्दार पहरेदार हो नेपाली सेना।
ऐतिहासिक वीरगाथा आफ्ना ठाउँमा छन् तर वर्तमान योगदान र त्यागका गाथाहरु पनि कम छैनन्।
सशस्त्र विद्रोहीलाई राष्ट्रिय राजनीतिक मूलधारमा ल्याउन अनवरत पहल र प्रयास गर्ने यो संगठनलाई अन्ततः राष्ट्रघाती आन्तरिक द्वन्द्वमा तानेर छाडियो र त्यत्रो जनधनको अपूरणीय क्षति भयो।
राजाको बहिर्गमन र जनताको सत्तारोहणमा सेनाले बिना शक्ति गरेको योगदान र त्यागको खोई कदर? संक्रमणकाल छोट्याउन र सफल पार्न गरेको त्याग अबिस्मरणीय थियो।
विद्रोहीको क्याण्टोन्मेण्ट ह्याण्डेलिङ र असमान समायोजनको स्वीकारोक्ति एवं सफल अवतरण विश्वमै नमूना थियो–जसको कदर विश्वले नेपाली सेनालाई ‘विश्व शान्ति पुरस्कार’ दिएर गर्नुपर्ने थियो। तर शान्ति प्रकृयाका बाँकी काम लथालिंग छाड्ने उनै युद्धनायक सरकारको राजनीतिक उपेक्षा बुझिनसक्नु छ।
युद्धनायकहरुले खोजेको सरल समान र सम्मानजनक ‘समावेशी’ नेपाली सेनामा उहिलेदेखि नै थियो। सिपाहीको सर्वोच्चता, समानता, स्वतन्त्रता, आत्मनिर्णयको अधिकार, सम्मान, अनुशासन, जवाफदेहिता र चेन अफ् कमाण्डको प्रत्याभूति एवं अभ्यास उहिलेदेखि थियो संगठनमा।
बरु ७० वर्ष पटकपटक असफल भएर जुठेल्नामा फ्यालिएका तिरस्कृत राष्ट्रघाती प्रजातन्त्रको दुहाई दिने ती अनैतिक शासक र नेतागणहरुले नेपाली सेनाको राष्ट्रिय र नैतिक चरित्रले निर्देशित अनुशासित एवं जवाफदेही प्रजातान्त्रिक अभ्यासको अनुशरण गरुन् र आफ्ना मतदाताप्रति न्यूनतम् जिम्मेवारी प्रदर्शन गरेर देखाउन्।
भावी रोडम्याप
सर्वोच्चको निर्णय पक्ष विपक्ष जे मा आए पनि देश, जनता र लोकतन्त्रले हारिसकेको छ। ‘कम ड्यामेज कन्ट्रोल’ को सूत्र हामीलाई आवश्यक छ। शासनका हकदार जनता हुन् सेना किमार्थ होइन। सेना सचेत र सतर्क सेवकमात्र हो।
फुट, विखण्डन, विभाजन र निषेधको राजनीतिले नेपाल र नेपालीलाई सदैव हराइरहने छ। सद्भाव, मेलमिलाप, समन्वय, सहकार्य र बृहद् टीमवर्कले मात्र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय सम्वृद्धि हासिल हुने छ।
आयातित् होइन मौलिक आत्मनिर्भरउन्मुख माटो सुहाउँदो प्रजातन्त्र नेपालको माग हो। ढुलमुले होइन, तटस्थ सन्तुलित र परिपक्व परराष्ट्र नीति हाम्रो आवश्यकता हो।
राष्ट्रघाती र देशद्रोही नेतृत्वको पहिचान गरौं र मृत्यूदण्ड दिने कानून बनाऔं। परनिर्भरता कम गर्दै नेपालीपन, मौलिक संस्कृति, आन्तरिक उत्पादन र आत्मनिर्भरताको बाटो रोजौं। वर्तमान दुर्घटना र लाजको पसारोबाट अन्तिम पाठ सिक्दै यसलाई शान्ति र सम्वृद्धिको स्वर्गमा प्रवेश गर्ने प्रस्थान विन्दू बनाऊँ।
राजनीतिक कोर्स करेक्सन र गेम चेन्ज गर्ने काम सेनाको होइन, २१ औं शताब्दीका सचेत युवा वर्गको हो। भ्रष्टाचारलाई क्षमा होइन व्यापक कार्वाही गरेर ढुकुटी भर्ने भराउने काम पनि युवा नेतृत्वको हो।
टेस्टेड् एण्ड फेलियर बासी नेता होइन दूरदृष्टि भएका महान त्यागी विद्वान युवा नेतृत्व समयको माग हो। कैद र जेलभुक्तान होइन नैतिकता, जवाफदेहिता, विद्वता र निश्कलंकता नव नेतृत्वको अनिवार्य शर्त हुनुपर्दछ।
तसर्थ, सैनिकलाई उक्साउने होइन रक्षा गर्ने विकल्पको अभ्यास गरौं। सैनिक ‘कू’ समाधान होइन अस्थिरताको प्रारम्भ हो। अन्तिम शक्ति खर्च गरेर अन्त्य गर्ने होइन, संचय गरेर शक्तिशाली बनाएर राख्ने हो। स्वार्र्थी, लाछी, देशद्रोही सेना होइन, शासकहरु हुन्।
अन्त्यमा, मुलुकको यो बेथिति र दुर्दशालाई सुधार गरेर सीघ्र थप ‘ड्यामेज कन्ट्रोल’ गरौं। राष्ट्रिय सुरक्षाका खम्बाहरुलाई धरमराउन नदिऊ“ बरु थप मजबुत बनाऊँ।
राष्ट्रिय इण्टेलिजेन्स र राष्ट्रिय सुरक्षा संयन्त्रलाई सशक्तिकरण गरौं। बाह्य हस्तक्षेप निमिट्यान्न पारौं। राष्ट्रघाती र देशद्रोही नेतृत्वको पहिचान गरौं र मृत्यूदण्ड दिने कानून बनाऔं।
परनिर्भरता कम गर्दै नेपालीपन, मौलिक संस्कृति, आन्तरिक उत्पादन र आत्मनिर्भरताको बाटो रोजौं। वर्तमान दुर्घटना र लाजको पसारोबाट अन्तिम पाठ सिक्दै यसलाई शान्ति र सम्वृद्धिको स्वर्गमा प्रवेश गर्ने प्रस्थान विन्दू बनाऊँ। भावी पिँढीलाई ऋणमुक्त, प्राकृतिक सम्पदा भरपूर, स्वाभिमान, स्वतन्त्र, सार्वभौम गौरवयोग्य मातृभूमि बुझाऊँ।
(संरक्षणविद् लेखक कुनै राजनीतिक दलसँग आबद्ध छैनन्)
Facebook Comment