विरोधसभामा देउवा र पौडेलको फरक फरक धारणा

डिसी नेपाल
१३ पुष २०७७ १६:५६

काठमाडौं। संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा विरोधसभालाई सम्बोधन गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा विरोधसभालाई सम्बोधन गरे।

नेकपाको आन्तरिक विवादका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ मा संसद् विघटन गरेर वैशाखमा मध्यावधि चुनावको घोषणा गरेपछि संसद् विघटनलाई असंवैधानिक भन्दै काँग्रेसलगायत दलहरुले विरोध गरिरहेका छन्। संसद् विघटनको विरोध गर्ने अन्य दलहरुले संसद् पुनःस्थापनाको माग गरे पनि काँग्रेसले भने त्यस्तो भनेको छैन।

काँग्रेसमा संसद् विघटनलाई असंवैधानिक भन्ने तर सोही असंवैधानिक कदमअनुसार घोषणा भएको चुनावमा पनि जाने भन्ने दोहोरो विचार देखिएको छ। आइतबारको विरोधसभामा पनि सभापति र वरिष्ठ नेताको भाषणमा यो विरोधाभास देखिएको छ।

भक्तपुरमा विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसले अदालतको फैसला स्वीकार गर्ने उल्लेख गर्दै अदालतलाई दबाब नदिइने बताएका छन्। उनले भने, ‘ अदालतले जुनै पनि किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौँ। बानी पनि छैन, चलन पनि छैन। अदालतलाई स्वविवेकीय अधिकार छ। अदालतको अधिकारको निर्णय त्यसलाई हामी स्वीकार गर्नेछौँ। अन्तिम ठाउँ न्यायालय हो। हाम्रो पक्षमा होस् विपक्षमा होस् मान्न तयार छौँ।’

तर उता तनहुँमा भने वरिष्ठ नेता पौडेलले न्यायमुर्तिहरुलाई संविधान हेरेर फैसला गर्न आग्रह गरेका छन्। उनले संसद् पुनःस्थापना नभए देश अफगानिस्तान बन्ने चेतावनी दिए।

उनले संसद् पनि पुनःस्थापना नहुने र चुनाव पनि नहुने अवस्था आउन लागेको भन्दै त्यस्तो अवस्था आउन नदिन काँग्रेस सडकमा आउनु परेको बताए। उनले चुनावको लोभभन्दा पनि लोकतन्त्र र संविधानको रक्षा नेपाली काँग्रेसका लागि महत्वपूर्ण भएको बताए। उनले न्यायमुर्तिहरुले संविधान हेरेर फैसला गर्नुपर्ने भन्दै यो संविधानमा कतै पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्था नगरेको दावी गरे। उनले आफूहरुले नै संविधान बनाएकोसमेत स्मरण गराएका थिए।

वरिष्ठ नेता पौडेलले भने, ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ।’ मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो।

नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो। ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ’, उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ।’

सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताए। प्रतिनिधिसभा विघटनको विरोध गर्दै काङ्ग्रेस तनहुँले आइतबार दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो।

उता नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमासभामा कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताए।

उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको बताए।

अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन्। सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकार शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताए। प्रदेश नं १ प्रदेशसभामा प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *