सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

डिसी नेपाल
१३ पुष २०७७ २२:१२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको छ ।

सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाएको सन्देश हस्तान्तरण गर्दै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका थिए ।

सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताएका थिए ।

कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्रमण आदानप्रदान गर्ने विषयमा समेत उनीहरुबीच विचारविमर्श भएको थियो । सभामुख सापकोटाले कोरोना महामारी नियन्त्रणका लागि चीन सरकार र चिनियाँ जनताले देखाएको सहयोगको समेत त्यस अवसरमा प्रशंसा गरेका थिए ।

यस्तै प्रतिनिधिमण्डलले सोमबारै पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो । छुट्टाछुट्टै भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । सोमबार बिहान मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *