नक्कली फेसबुक आइडीबाट आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।
उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बैंकिङ कसूरका फरार पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ स्थित जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक नागार्जुन नगरपालिका–४ घर भएका ५२ वर्षीय श्यामकुमार श्रेष्ठलाई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सीतापाइला सडक खण्डमा कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आइएमई बैंकमा रु एक करोड ३६ लाख १० हजार बराबरको पैसा नभएको खाताको चेक दिई बैंकिङ कसूर गरेको जनाइएको छ ।
त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ सीतापाइलाबाट आज पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।
Facebook Comment