‘विधिको शासन स्थापना गर्न आन्दोलनमा’

डिसी नेपाल
१४ पुष २०७७ २१:२९

कर्णाली । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाकी नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन् । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उनले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताए ।

न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भनिन्, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ । सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उनको आरोप थियो ।

विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनःस्थापना अपरिहार्य रहेको दावी गरे । आज प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *