‘ट्राफिक कन्ट्रोल गर्न पूर्वाधार र प्रविधिको भूमिका महत्वपूर्ण’
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले काठमाडौं उपत्यकाको ट्राफिक भयावह भएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै प्रहरी प्रमुख एसएसपी भट्टराईले चालकले ट्राफिक प्रहरीलाई हेर्ने मनस्थिति र उनीहरुमा चेतना विकास नभएसम्म व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन्।
‘चालक अनुमति पाएका सबै चालक ट्राफिक चेत भएका व्यक्ति मानिन्छन्,’ एसएसपी भट्टराईले भने, ‘यदि उनीहरुले ट्राफिक नियम मान्दैनन् भने त्यो जानी जानी नियम उलंघन गरेको मानिन्छ। ट्राफिक प्रहरीले चालकलाई सम्झाउँदा उनीहरुले हेर्ने दृष्टिकोण र उनीहरुको मनोभावनामा परिवर्तन नभएसम्म व्यवस्थापनामा चुनौती रहेको छ।’
ट्राफिक प्रहरीले विस्तारी डिजिटल उपकरणहरुको प्रयोग गर्दै आएको बताउँदै एसएसपी भट्टराईले ट्राफिक लाईट पनि अटो म्यानेजमेन्ट हुने राख्न लागेको जानकारी दिए। उनले भने, ‘अब हामी १ वर्षमा काठमाडौंको रिङरोड भित्रमात्र भए पनि स्मार्ट ट्राफिक लाईटराख्ने अपेक्षा गरेको छु।’ आजको दिनसम्म कन्ट्रोलरुमबाट ट्राफिक लाईटहरुलाई म्यानेजमेन्ट गर्दै आएको पनि उनले जानकारी गराए।
ट्राफिक जाम र दुर्घटना कम गर्नका लागि प्रविधिको नै मुख्य भूमिका रहने भन्दै एसएसपी भट्टराईले मादकपदार्थ सेवन (मापसे), उच्च गति, लेन अनुसाशन लगायका विषयमा प्रविधिले सहयोग गर्ने बताए। उनले आगामी दिनमा राजमार्गहरुमा राखिने प्रविधिले नै ट्राफिक नियम उलंघन गर्नेसवारी साधनलाई प्रमाणीत गरेर तस्वीर सहित कन्ट्रोल रुपमा पठाउने र त्यसको आधारमा कारवाही हुने बताए।
काठमाडौंको ट्राफिकमा समस्या भएको कुरा स्वीकार गर्दै एसएपी भट्टराईले काठमाडौंमा बाकीँ रहेका करिडोर खोलेसँगै यो समस्याको अन्त्य हुने पनि बताए। उनले भने, ‘करिडोर खोल्ने कुरालाई अगाडि बढाएका छौं। बाँकी रहेका करिडोरहरु खोलेपश्चात काठमाडौं भित्रको अहिलेसको ट्राफिक समस्या हल हुने विश्वास रहेको छ।’
विश्वका केही देशहरुमा सवारी नियम उलंघन गर्नेलाई गरिने कारवाहीको उदाहरण दिँदै ट्राफिक प्रहरी प्रमुख भट्टराईले भने, ‘हाम्रो देशमा पनि अझै मान्छेलाई सचेत गराउनका लागि जरिवाना हेरफेर गर्न सरकारसँग अनुरोध गर्नु पर्ने भएको छ। जरिवाना बढाउँदा चालकहरु जरिवाना सुनेर नै नियम उलंघन गर्न डराउनु पर्छ। त्यसैले सरकारले चालकहरुलाई सभ्य बनाउका लागि पनि ट्राफिक नियम उलंघनको जरिवानामा हेरफेर गर्नु पर्छ भन्ने मेरो बुझाई हो।’
कोभिडका बेला सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता समग्र प्रहरीले नपाएको उनले बताए। उनले ट्राफिक प्रहरीको कार्यलाई मूल्याङ्कन गरेर महामारीका बेलामा मात्र नभएर अरुबेला पनि जोखिम भत्ता दिनु पर्ने आशय व्यक्त गरे।
उनले भने, ‘दुई तिरबाट गोलीजस्तै सवारी साधन आएका हुन्छ। धुलो र धुँवामा ८ घण्टा तिाउनु पर्छ। एउटा डिउटीमा खटिएको प्रहरीले स्वास फेर्दा पनि धुलो र धुँवामात्र संचित गरिरहेको हुन्छ। उसलाई के त ? कमसेकम प्रोत्साहन भत्ता त हुनु पर्छ भन्ने लाग्छ। हामी त्यो अनुसारले प्रधान कार्यालयमा कुरा पनि गरिरहेका छौं।’
दैनिक ३ सय जनाको अनलाईनबाट ट्राफिक सचेतना सम्बन्धमा कक्षाहरु संचालन गरेको उनले जानकारी दिए। एसएसपी भट्टराईका अनुसार ट्राफिक नियम उलंघन गर्नेलाई यसरी सचेतनाका कक्षाहरु दिएर मात्र लाईसेन्स फिर्ता गर्ने गरेका छन्।
अहिले कोभिडका कारण मान्छे जम्मा पारेर गर्ने सचेतनाका कार्यक्रम गर्न नसकिएको एसएसपी भट्टराईले बताए। उनले कोभिडको अवस्था हेरेर सचेतनाका कार्यक्रम पनि संचालन हुने जानकारी दिए।
Facebook Comment