सत्ता कांग्रेसका लागि प्यारो छैनः केन्द्रीय सदस्य पौडेल

डिसी नेपाल
१७ पुष २०७७ ०:१८

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताएका छन्। पैतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी निय्क्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले गलत काम गरेको आरोप लगाए।

आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताए। कार्यक्रममा पार्टीका सचिव विश्व बाँस्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेललगायतले जननायक बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

कांग्रेस जिम्मेवार बन्नुपर्छःनेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले विहिबार आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए।

अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “राजनैतिक उतारचढाव हुँदा कांग्रेसले वागडोर सम्हालेको हो । अहिले फेरि त्यो काम गर्नु आवश्यक छ ।” अहिले संविधानको मर्म विपरीत सरकार अघि बढेकाले अस्थिरता बढेको उनले बताए । यसका लागि कांग्रेसले संविधानको मर्मलाई ख्याल गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए। “सरकारले संसद् भङ्ग गर्नु संविधान विपरीत हो”, पार्टीका पूर्वमहामन्त्री सिंहले भने । राष्ट्र, प्रजातन्त्र, संविधान जोगाउनका लागि जिम्मेवार बन्नुपर्ने भन्दै उनले भने, “अहिले जनताले स्थिरताका लागि नेकपालाई स्पष्ट बहुमत दिएको हो तर त्यो पूरा भएन ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले काङ्ग्रेसले संबिधान अनुसार हुने निर्वाचन चाहन्छ, असंवैधानिक होइन भने । संविधानको रक्षा गर्ने विषयमा कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो । एकता र विश्वासको वातावरण भएमा कांग्रेसले संविधान विरोधी शक्तिलाई ठाउँमा ल्याउन सक्ने उनको भनाइ थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालालगायतले बोलेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *