प्रचण्ड-नेपाल समूहले अरुको गोटी भएर विनास लिला मच्चाएको प्रधानमन्त्रीको आरोप

डिसी नेपाल
१७ पुष २०७७ १४:०७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहले अरुको गोटी भएर विनास लिला मच्याएको आरोप लगाएका छन्।
शुक्रबार नयाँ वर्षको उपलक्ष्यमा प्रवासी नेपालीलाई भर्चुअल सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले प्रचण्ड–नेपाल समूहले अरुको गोटी भएर विनास लिला मच्याएको आरोप लगाएका हुन्।

‘नेपालको खोसिएको भूमि प्रमाणित गरेर संविधानमा लेख्यौं, त्यसपछि ममाथि हमला हुन थाल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले साथीहरुलाई अरुको गोटी भएर काम नगरौं भने। तर एकपछि अर्को षड्यन्त्र गर्ने, म विरुद्ध हस्ताक्षर अभियान चलाउने र अविश्वास गरिरहने अनि देश र विदेशमा पनि त्यही वातावरण बनाउने काममा उहाँहरु लाग्नु भयो।’

प्रधानमन्त्री ओलीले भारततर्फ इशारा गर्दै प्रचण्ड–नेपाल उतैको गोटी भएको आरोप लगाएका हुन्। ओलीले कुन परिस्थिति, कसको आदेश र निर्देशनमा त्यसो गरेको भन्ने विषय जगजाहेर भएको उल्लेख गर्दै त्यसलाई रोक्न आफूले कदम चाल्नु परेको दाबी गरे।

‘जुन संविधान र प्रणालीमाथि प्रहार हुन थालेपछि त्यसलाई रोक्न ताजा जनादेशमा जानु परेको हो,’ ओलीले भने, ‘अहिले पनि पार्टी विभाजन भएको छैन। बैठकमा उहाँहरु नआउनु भएको हो। अन्यत्रै बैठक गरेर स्वयं अध्यक्ष घोषणा गर्ने? म फेरि पनि बोलाउँछु आउनुस् मैले कसैलाई पनि सदस्यताबाट निकालेको छैन। प्रचण्ड अहिले पनि अध्यक्ष हो, माधव नेपाल र झलनाथ अझै पनि वरिष्ठ हो।’

प्रधानमन्त्री ओलीले बैठकमा बोलाउँदा नआउने अनि हामी यहाँ छौं भनेर सडकमा गएर बस्ने भन्दै प्रश्न गरे। ‘मैले उहाँहरुको जंगली महत्वकांक्षा पूरा गर्न सकिन। केही मानिसलाई पदको हतारको थियो, त्यो आकांक्षा पूरागर्न सकिन।’

बोरिस जनसनको उदाहारण

संसद विघटनका विषयमा प्रधानमन्त्री ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जनसनको उदाहारण दिँदै आफ्नो कदमको बचाउ गरेका छन्। उनले पार्टीभित्रको आन्तरिक समस्याका कारण बेलायतजस्तो लोकतान्त्रिक मुलुकमा पनि संसद विघटन भएको उल्लेख गर्दै अहिले इजराइल त्यही अवस्थाबाट गुज्रिरहेको र भारतमा पनि प्रधानमन्त्रीले पटक पटक चुनावको घोषणा गरेको उल्लेख गरे।

ओलीले रसियामा बोरिस एल्त्सिनले २१ जनालाई कारवाही गरेर पार्टीबाट निकालेको प्रसंग जोड्दै ओलीले आफूले कसैलाई पनि कारवाही र पार्टीबाट ननिकालेको जनाए। ‘उहाँहरुले पार्टीको बैठक बोलाउनुपर्यो भन्नु भयो, मैले केन्द्रीय कमिटी बैठक बोलाउँदा उहाँहरु निवेदनको चिर्कटो बोकेर निर्वाचन आयोग जाने?,’ ओलीले भने, ‘हामी कुनै चिर्कटो लिएर निर्वाचन आयोग गएका छैनौं। हामी आधिकारिक हौं। उहाँहरु निर्वाचन आयोग दौडिनु भएको छ।’

ओलीले प्रचण्ड–नेपाल समूहलाई अरुकै निर्देशनमा अलग हुन खोजेको र पार्टी फुटाएर सरकार बनाउने खोजेको आरोप लगाए। ‘अरुकै निर्देशनमा अलग हुन खोज्ने, अनि पार्टी फुटाएर सरकार बन्छ? दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन खोज्ने अनि समाजवाद उम्मुख भन्ने?,’ उनले भने।

प्रचण्ड– माधव नेपाललाई पार्टीबाट निकालिएको छैन

प्रधानमन्त्री ओलीले आफूहरुले प्रचण्ड र माधव नेपाललाई पार्टीबाट ननिकालेको बताएका छन्। ‘सडकमा बस्नेलाई हामीले पार्टीबाट निकालेका छैनौं,’ उनले भने, ‘उहाँहरुलाई पार्टी बैठक बोलाएन भन्नु भयो। मैले बैठक बोलाएँ, उहाँहरु आउनु भएन। हरेकलाई सूचना दिइएको छ। त्यतिगर्दा पनि नआउने अनि बाहिर बसेर अध्यक्षलाई कारवाही गर्ने घोषणा गर्ने?

आफूले महाधिवेशनको विधि पुर्याउनु म छोड्छु भनेको र उनीहरुको नेपालको कम्युनिष्ट आन्दोलन सिद्याउने योजनामा सहमत हुन नसकेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *