राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको चर्को आलोचना, बचाउमा बोल्ने कोही भएन

डिसी नेपाल
१७ पुष २०७७ १७:५८

काठमाडौं। प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको पहिलो अधिवेशन शुरु भएको छ। शुक्रबार राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु भयो। अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बोल्ने समय दिइयो।

नेकपा, काँग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिले आ आफ्नो धारणा राखे। तीनै जनाले आ आफ्नो धारणा राख्नेक्रममा प्रतिनिधिसभा विघटनलाई मुख्य मुद्दा बनाए। तीनैजनाले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरे।

रोचक कुरा त के भने सत्तारुढ दल नेकपाको तर्फबाट बोलेका राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले पनि प्रतिनिधिसभा विघटनको आलोचना गरे। उनले प्रतिनिधिसभा विघटन हुँदा निकै दुःखी भएको बताए। उनले आफ्नो पार्टीमा भएको किचलोका कारण प्रतिनिधिसभा विघटन भएकोसमेत बताए। उनले नेकपा विभाजन हुन गइरहेको भन्दै नेताहरुको किचलोका कारण नेकपा विभाजन हुन लागेको बताए।

शर्मापछि बोल्ने मौका काँग्रेस सांसद जितेन्द्र देवले पाए। शर्माभन्दा देव प्रतिनिधिसभा विघटनप्रति निकै आक्रोशित देखिए। उनले सरकारले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको भन्दै २००७ साल देखिको लडाइँले प्राप्त उपलब्धी गुम्ने खतरा रहेको औंल्याए। उनले वर्तमान संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुनै व्यवस्था नभएको भन्दै सरकारले असंवैधानिक कदम चालेको तर्क गरे। उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिनसमेत आग्रह गरे।

देवपछि बोल्ने मौका जसपाकी सांसद प्रमिला कुमारीले पाइन््। उनले झन आक्रोशित देखिइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाइन्। संसद विघटनसँग जोडेर उनले राष्ट्रपति भण्डारीले घृणित कामगरेको आरोपसमेत लगाइन्। उनले भण्डारीकै कारण आम महिलाहरु अपहेलित हुनुपर्ने अवस्था आएको जिकिरसमेत गरिन्।

संसदमा प्रतिनिधिसभाको विघटनप्रति यसरी आलोचना भइरहँदा सरकारको बचाउमा बोल्ने सांसद भने कोही भएन। पहिलो बैठकमा सबै दलका प्रतिनिधिलाई बोल्न दिइएको थियो। त्यसैले सरकारको बचाउ गर्ने कर्तव्य नेकपा सांसदको थियो। तर, अहिले नेकपा विभाजित अवस्थामा छ। नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा नेकपाको प्रचण्ड–माधव समूह नजिक छन्। त्यसैले उनले सरकारको बचाउ गर्ने कुरा भएन। नेकपा औपचारिक रुपमा विभाजन भइनसकेकाले नेकपाको ओली समूहका सांसदले बोल्ने मौका पनि पाएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *