प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : चितवन र मकवानपुर विजयी
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन् । समूह बी को आज सम्पन्न खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो । ललितपुरका लागि विवेक थापा मगरले सर्वाधिक ४५ रन बनाए । यस्तै विपिन आचार्यले ३५ तथा आदिल खानले २१ रनको योगदान दिए । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठले ३ विकेट लिए ।
एक सय ९७ रनको लक्ष्य चितवनले ३७ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि प्रतीक श्रेष्ठ र गौतम केसीले ७६ रनको साझेदारी निभाए । श्रेष्ठले अविजित रहँदै सर्वाधिक ५७ रन बनाए । केसीले ५५ रनको योगदान दिए । यस्तै आकाश थापाले ४० रन बनाए । बलिङतर्फ ललितपुरका सुमित झा र विपिन आचार्यले तीन/तीन विकेट लिए ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा आजै भएको समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । मकवानपुरका लागि गौरव खड्काले सर्वाधिक ६० रन बनाए । यस्तै विशाल फुयाँलले ५४ तथा कप्तान रामनरेश गिरीले ४४ रनको योगदान दिए । बलिङतर्फ नुवाकोटका अभिराज यादव, साकार रावत र अनुप श्रेष्ठले दुई/दुई विकेट लिए ।
दुई सय ६९ रनको लक्ष्य पछ्याएको नुवाकोटले २१ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । नुवाकोटका कप्तान राजेश रिमालले १५ तथा प्रमोद रेग्मीले ११ रन बनाए । मकवानपुरका लागि सुवर्ण भट्ट र पियुष शर्माले तीन तीन विकेट लिए । रिजल ढकाल र कप्तान रामनरेश गिरीले दुई दुई विकेट लिए ।
Facebook Comment