सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँः मन्त्री भट्ट

डिसी नेपाल
१७ पुष २०७७ २२:५६

ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ औँ साधारणसभा उद्घाटन’ का क्रममा आज उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताए। उनले भने, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनौँ । मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछौँ।” मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने औँल्याए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले कोभिड अगाडिको व्यापार व्यवसाय पूर्ववत् पुनः फर्काउन जरुरी भएको हुँदा राम्राराम्रा कार्यक्रम ल्याउनुपर्ने मत व्यक्त गरे । उनले भने, “हालको आर्थिक गतिविधि सुस्त भएको हुँदा उत्पादनलाई विश्व बजार समक्ष प्रतिस्पर्धी बनाउँदै लानुपर्ने भएको छ ।” ललितपुरमा रहेका छ पालिकामध्ये दक्षिण ललितपुरका तीन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठूलो रकम आवश्यक भएको उनले जानकारी गराए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल प्रधानले मुलुकको अर्थतन्त्र बढाउन पुरातन सोचलाई अन्त्य गरी वैज्ञानिक ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता भएको भनाइ राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण धरासायी भएका व्यवसायीलाई महानगरपालिकाभित्र तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिएको बताए । उनले भने, “ललितपुर विश्वको ३५औँ कला नगरीमा घोषणा भइसकेकाले यहाँका व्यवसायी आ–आफ्नो कामबाट पलायन नहुन् भनेर चालु आर्थिक वर्षमा कोभिड कोषको पैसा यसको बचावटमा छुट्याइसकेका छौँ ।”

सङ्घको चुनाव भोलि

सङ्घमा नयाँ अध्यक्ष नेतृत्व चयनका लागि भोलि चुनाव हुँदैछ । भोलिको चुनावमा अध्यक्ष पदका लागि हालका महासचिव मनोजबहादुर न्याछ्यों र वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीको प्रतिस्पर्धा हुनेभएको छ ।

न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक तथा व्यवसायी छन् भने जोशी जोशी टे«ड सेन्टर खुमलटारका सञ्चालक एवं वर्णवास म्यूजियम होटलका पर्यटन व्यवसायीसमेत हुन् । यसअघि सङ्घमा अध्यक्षको कार्यकाल दुई वर्षको थियो भने अबदेखि तीनवर्षको अध्यक्ष कार्यकाल हुनेछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *