यात्रा संस्मरण : मकुना हात्तीको आक्रोश साम्य पार्ने दौड
पुष १४ गते सामाजिक कामले पूर्वको इटहरी पुगें। इटहरी चोकमा पुगेपछि धर्मसंकट आइलाग्यो। बेलबारी शुभकार्यमा घरको प्रतिनिधि अनिवार्य उपस्थिति हुनु भनेर पूर्व पठाएको पितामाताले तर संकटमा परी पीडाको एक्लो जीवन बिताइरहेका धरान–निवासी नातागोता र मित्रजनलाई सान्त्वना र शुभकामना दिनु आफ्नो धर्म ठानें।
‘एक पथ दुई काम’ को निशाना सोझ्याएर पहिला धरान त्यसपछि बेलबारीको कार्यक्रम तय गरें। किनभने साँझ काठमाडाैं फिर्ता हुर्नुपर्ने बाध्यता थियो। आफूले ठानें- ‘समयको पाबन्दीको बाबजुद् पनि ‘स्मार्ट कार्यक्रम’, पहिला धरान त्यसपछि बेलबारी। तर भयो अर्कै।
राष्ट्रिय निकुञ्ज विभागका एकजना मित्रले आग्रह गर्नुभयो- ‘तपाइँ नजिक हो भने एकपटक ‘कोशीटप्पु वन्यजन्तु आरक्ष’ गइदिनुहोस न। आज हात्तीले १ जना स्थानीयलाई मारेपछि आरक्ष र स्थानीयबीच द्वन्द्व बढेको छ। द्वन्द्व न्यूनीकरणमा योगदान गरिदिनुहोस्।’
आफ्नो सोच परिवर्तन भयो। एक्कासी योजना परिवर्तन भयो। प्रकृतिरुपी ईश्वरले आफ्नो आत्मालाई ठाडो निर्देशन दियो- ‘सुखको पछि होइन, दुःखको पछि दुगुर्नु पर्छ। तेरो कोशीटप्पु पीडामा छ। तेरो प्रतीक्षामा छ। बिना शर्त पीडामा मलम लगाउन जानू। हेक्का रहोस्–एकपटकको संरक्षणकर्मी संधैको संरक्षणकर्मी।’ मैले प्रकृतिको आदेश अक्षरश पालना गरें। आफ्नो योजना थाति राखेर म मेरो मन्दिर ‘कोशीटप्पु’ दगुरें।
बाटोभरि आन्दोलनको जात्रा
इटहरीबाट पश्चिम हानिएँ। डफ्फाका डफ्फा आन्दोलनकारीहरुको तीव्र गतिको सवारी साधन देखेर उदेक लाग्यो। बस, ट्रक, जीप, कार, मोटरसाइकल, साइकल झण्डा र तुलले रंगिएका थिए। सूर्यअंकित झण्डाबाहेक अरु नानाथरीका झण्डा चिन्न सकिन। सबै जोसिलो नाराका साथ तीव्र गतिमा हुँइकिरहेका थिए।
आफू जाममा परेपछि आन्दोलनकारी युवाहरुलाई जिज्ञाशा राखेँ-‘भाइहरु, यो के को, कसको र किन गरेको आन्दोलन हो?’ भाइहरु सबै नाजवाफ भए। बरु टाढाको भाइले हक्कीसाथ जवाफ दिए- ‘आन्दोलन कसको र किन थाहा छैन। तर मासु–चिउरा र ठर्राको व्यवस्था छ रे भनेर हामी जादैछौं।’
आफूले मनमनै गुने–‘हरे, नेपालमा हरेक आन्दोलनको उद्देश्य र गन्तव्य आन्दोलनकारीलाई थाहा नहुने। भ्रष्ट नेताहरुले अरबौं अरब अपचलन गर्दा त्यसको शेष मासु–चिउरा र ठर्राले तिनका कार्यकर्ता आँधीतुफान झैं हुर्रिने। भ्रष्टाचार र विदेशी मालिकको भत्ताको अंशबण्डा। माथि अरब तल सराब।’
धेरैपटक राजपरिवारको भ्रमण गराउने अवसर पाउदा राजाहरुको मुखारविन्दबाट आरक्षलाई ‘पूर्वको हिरा’ भनेको सुनेको थिएँ। धेरै विदेशी विशिष्ट अतिथिहरु पु-याउँदा उनीहरु ‘नेपालको हिरा’ भन्दथे। प्रकृतिप्रेमी धेरै वनमन्त्रीहरु पु-याएँ। ३ वर्ष अगाडिमात्र राष्ट्रपतिलाई भ्रमण गराउने अवसर पाएको थिएँ। नयाँ नेपालका राष्ट्रपति र वनमन्त्रीहरुलाई बस् त्यही सुनाईदिन्थें–
‘पूर्वको हिरा। नेपालको हिरा।’
आन्दोलन छेड्दै आफू इनरुवा पार गरें। त्यसपछि झन् फसाद। पूर्व–पश्चिम राजमार्ग बन्द। सवारीसाधनको चक्काजाम्। फेरि मनमनै भनें–‘हरे, हात्ती अबोध। जनता पीडित। लामो यात्रा गर्ने यात्रुजनलाई व्यर्थको सास्ती।’
टाढाको प्रहरीले कोशीटप्पु जाने हाम्रो गाडीलाई पास गरिदिए। द्वन्द्व न्यूनीकरणको अपेक्षा राख्दै दिएको पासलाई मैले नेपाल प्रहरीको ‘शान्तिको चाहना’ भनेर सलाम गरें।
कोशीटप्पु पुग्दा आरक्ष प्रशासन र सुरक्षा गुल्मका पदाधिकारीहरु एक ठाउमा जम्मा भए। आफूले छोटो मन्तव्य राखें–
‘हात्ती गणेश भगवान।
स्थानीय हाम्रा अर्का भगवान्।
ती दुई भगवानहरुका तपाईँहरु सेवक। दुवै भगवानहरुको शान्तिपूर्ण सहअस्तित्व र रक्षा तपाईँहरुको उद्देश्य र गन्तव्य। दुईबीच भरपर्दो सन्तुलन कायम राखेर दुवैलाई शान्त, खुशी र सुखी राख्ने जिम्मेवारी तपाईँहरुको हो।
म पूर्व संरक्षणकर्मी। यो आरक्षमा पैदल, साइकल, डुङ्गा गस्ती गर्न पाएको भाग्यमानी संरक्षणकर्मी। त्यही नाताले आज संकटको घडीमा म तपाईँहरुलाई शुभेच्छा र शुभकामना दिन हाजिर भएको। सप्तकोशीले बाँध फुटाउदा तपाईँहरुले स्थानीयवासीहरुको जोखिमपूर्ण उद्धार गर्नुभयो। टाढाको खेतमा फ्याँकिएका डल्फिनहरुलाई उद्धार गरेर पुनः सप्तकोशीमा रिलिज गर्नुभयो। म तपाईँहरुको उद्धार गर्न हाजिर भएको थिएँ।
अनगिन्ती संकटको सामना गरिसकेको यस आरक्षमा आज अर्को संकटमा आउन पाउदा मैले आफूलाई दुर्लभ भाग्यमानी ठानेको छु। किनभने प्रकृति, विपद् र वन्यजन्तुले मलाई हजारौंपटक जीवनदान दिएर बचाएका छन्।
तपाईँहरु दुई बीचको ऊ त्यो पर्खाल हाम्रो दुश्मन हो। हामी बीच भावनात्मक एकता हुन जरुरी छ। दुई कम्पाउण्डबीचको पर्खाल र तारको बार हटाएर हामी एक हुन जरुरी छ। टीमबिल्डिङ र टीमवर्कको सूत्रपात त्यसरी हुनुपर्दछ। समुदायमा दुवैको इशारा र बोली एउटै हुनुपर्दछ। टीमवर्क व्यवहारमा ठूलो तागत् र शक्ति हो।
चक्काजाम्, आरक्ष घेराउ, हात्ती मार्ने दबाब बीच एक भएर उभिनु, धैर्यधारण गर्नु, हात्ती नियन्त्रण गर्ने प्राविधिक टोली बोलाउनु र कार्यान्वयनको लागि समय माग गर्नुका अतिरिक्त समय समस्या समाधानको राम्रो सूत्र हो। चितवनम ध्रुवे हात्तीले अतिरिक्त समय माग गरेर सच्चिएको नजिर छ हाम्रा सामु।
धैर्यधारण, मजबुत शान्ति–सुरक्षा र संकट समाधानको लागि बिवेकको प्रयोग तथा सफलताको शुभकामनासहित म विदा माग्दछु।’
म खडाखडी विदा भएँ। छिटो विदाइको अर्थ थियो–‘तपाईँहरु आफ्नो तनाव निको पार्ने काममा समय दिनुहोस्।’ पीडित परिवारजनको खुट्टा समातेर माफी मागें।
तर, अघि आन्दोलनकारी र स्थानीयबासीहरुलाई ‘तपाईँहरु पनि गणेशजस्तै भगवानहरु’ भन्ने मायालु र सम्मानजनक सम्बोधनले पगालिसकेको रहेछ। आफू फर्कदा आन्दोलन मत्थर भइसकेको देख्न पाएँ।
‘कोशीटप्पु’ मेरो मन्दिरमा पाउमात्र लगाउन पाउदा मलाई स्वर्ग पुगेको अनुभूति भयो। झन् संकटको घडीमा हाजिर हुन पाएकोमा आफूलाई गौरवान्वित् महशुस गरें। कोशीटप्पुतर्फको यात्रा डाइभर्सनले मेरो धरान गन्तव्य स्थगित भयो। सबै मित्रहरुलाई माफी माग्दै भनें–‘घरभन्दा प्रकृतिको मेरो मन्दिर ठूलो। अर्कोपटक छिटै भेटौंला।’
छोटो समयमा स्मरण गरें, ‘धेरैपटक राजपरिवारको भ्रमण गराउने अवसर पाउदा राजाहरुको मुखारविन्दबाट आरक्षलाई ‘पूर्वको हिरा’ भनेको सुनेको थिएँ। धेरै विदेशी विशिष्ट अतिथिहरु पु-याउँदा उनीहरु ‘नेपालको हिरा’ भन्दथे। प्रकृतिप्रेमी धेरै वनमन्त्रीहरु पुर्याएँ। ३ वर्ष अगाडिमात्र राष्ट्रपतिलाई भ्रमण गराउने अवसर पाएको थिएँ। नयाँ नेपालका राष्ट्रपति र वनमन्त्रीहरुलाई बस् त्यही सुनाईदिन्थें–
‘पूर्वको हिरा। नेपालको हिरा।’
राष्ट्रिय निकुञ्ज विभागले हात्ती नियन्त्रण गर्ने प्राविधिक टोलीलाई शीघ्र प्रस्थान गरायो। स्थानीय संरक्षणकर्मीहरुले हात्तीलाई २४ घण्टा पहरा दिएर निकुञ्जभित्र कोर एरियामा अड्काए। ता कि मकुना–मानव सम्पर्क टुटोस्। हात्ती विज्ञहरु कोशीटप्पु पुगे। स्थानीय प्रशासन र प्रहरीहरुले स्थानीयलाई शान्ति सुरक्षा र राहतको वचन दिए। स्थानीय युवाहरु हाम्रो हात्ती मार्ने होइन भनेर उफ्रिए।
कोशीटप्पुमा मैले प्रकृति संरक्षणको लागि बृहद् टीमको ब्यापक सकारात्मक अभ्यास देख्न पाएँ। मेरा आँखा पवित्र भए। त्यो अनुकरणीय संरक्षण कार्यको लागि म ऋणी भए जस्तो लाग्यो।
हात्ती मार्ने आवाज
एउटा झिनो अन्तर कुन्तर दुलोबाट हात्ती मार्ने माग गुन्जिरहेको थियो। मैले भर्खरै बहिगर्मन भएका पूर्व मन्त्रीका समर्थक होलान् भन्ठानें। ती मन्त्रीका भाषण कानमा पुनः गुन्जियो–‘हात्ती पालेर के पाइन्छ? हात्तीको देश भनेर को ठूलो हुन्छ? हात्ती सात्ती छाडिदिनुस्। संरक्षणका कुरा छाडिदिनुस्। हामी तपाईँहरुलाई विकास दिन्छौं। सम्वृद्धि दिन्छौं।’
तर हात्ती मार्नुपर्दछ भन्ने उत्ताउलो अल्लारे केटोलाई बुढापाकाहरुले ‘गणेश भगवानलाई के भनिस रे’ भनेर नहरमा चोपल्दै थिए।
१९७५ मा सार्पसुटर झिकाएर झापामा ४ वटा बदमास हात्ती मारिएको थियो र बाँकी हात्तीको हुललाई जताबाट आएको उतै (भारत) फर्काइएको थियो।
त्यसबेला साईटिस र संरक्षण कानून थिएन। अहिले हात्तीलाई अन्तर्राष्ट्रिय सन्धी साईटिसले दूर्लभ वन्यजन्तु भनेर एपेन्डिक्स वान् मा राखी कडा संरक्षण दिएको छ। यो सन्धीको पक्ष राष्ट्र नेपालले संरक्षण ऐन नै बनाएर हात्तीलाई मार्न प्रतिबन्ध लगाएको छ। सिधा भाषामा हात्ती मार्न पाइँदैन।
अब के गर्ने ?
मध्य-जाडो र मध्य–गर्मी हात्तीको भाले लाग्ने समय हो। भाले हात्ती मात्तिने बेला हो। यसको लागि सम्बन्धित सबै निकायहरु र स्थानीय जनता सचेत, सतर्क र सावधान हुनुपर्दछ। उच्च सतर्कता र सावधानीले जनधनको क्षतिलाई घटाउन सकिन्छ।
वन तथा वातावरण मन्त्रालयका विभागहरु एवं फिल्ड कार्यालयहरुले समन्वीकृतढगंबाट हात्ती अनुगमन र नियन्त्रणको भरपर्दो सुव्यवस्था मिलाउनुपर्दछ।
अल्पकालीन सुरक्षा
तत्काल गर्नुपर्ने काम भनेको मकुना हात्तीलाई आरक्षको कोर एरियामा लक् गरेर राख्ने हो। २४ घण्टा पहरा दिएर आरक्षभित्र राख्ने हो। दक्ष प्राविधिकले हात्तीलाई नियन्त्रणमा लिएर उसको शक्ति सीमित गरिदिने र घांटीमा कलर आई डि लगाईदिने हो। त्यसपछि २४ घण्टे अनुगमन सजिलै गर्न र उसलाई भित्र सुरक्षित राख्न सकिन्छ। यसको लागि आरक्ष प्रशासनलाई छिटो श्रोत साधन सम्पन्न गरिदिनुपर्दछ।
मकुनाको मनोविज्ञान बुझेर उसलाई शान्ति दिन नसक्ने वन मन्त्रालय र वन प्रशासन सजायको भागिदार हुन्। हात्ती देखिनसक्ने र संरक्षण नचाहिने पूर्व वनमन्त्रीलाई कुन विज्ञले ए.बि.सि.डि. पढाउने? मन्त्रीलाई दोष थोपरेर आफू सिन्को नभाँची ओभानो खोज्ने विज्ञ वन सचिवको निरिहता र बन्द ओठलाई कसले खोलिदिने? मकुनाले बारम्बार मागेको एउटा महानिर्देशक र उसको घाँटीको कलरमा लगाउने हजार रुपयाको ब्याट्री दिन नसक्ने वनको नेतृत्व वास्तवमा सजायको भागिदार छ।
अतिरिक्त बजेटको आवश्यकता पूरा गरिदिनुपर्दछ। तत्कालीन कारबाही फिल्ड स्टेशन र हात्ती प्राविधिकको प्राथमिक जिम्मेवारी हो। नेपाली सेनाको सुरक्षा गुल्मले ठूलो पहलता, प्रयास र त्याग प्रदर्शन गर्नुपर्दछ यसबेला। मकुनालाई अन्यत्र स्थानान्तरण गर्ने अर्को विकल्प खुल्ला छ। तर त्यो सरल सुरक्षित र स्वभाविक विकल्प होइन।
मध्यकालीन र दीर्घकालीन सुरक्षा
राष्ट्रिय निकुञ्ज विभाग र वन विभागले मद्यकालीन र दीर्घकालीन सुरक्षाको लागि विज्ञहरुको गोष्ठी आयोजना गरेर सुरक्षा योजना तर्जुमा गरिदिनुपर्दछ। हात्ती पृथ्वीलाई बोझ होइन उपहार हो। उसको आहार, पानी, वासस्थान र बाटोको वनजंगल सुरक्षा र व्यवस्थापन गर्ने काम कुशल व्यवस्थापकको चातुर्यता र दूरदृष्टि हो।
हामीले हात्ती समाप्त गरेर होइन पालेर हरित सम्वृद्धिको विकल्प रोज्नु बुद्धिमानी हुने छ। सम्बन्धित निकायले हात्तीको बासस्थान अतिक्रमण हुन रोकिदिए हात्ती नेपालमा खुसी सुखी र ज्ञानी हुने छन्।
विभागहरु दरिद्रताको शिकार नभएर स्वाभिमान् प्राकृतिक पहरेदार भई अग्राखजस्तो उभिन जरुरी छ। २ विभागबीच आपसी समन्वय र सहकार्यको टड्कारो खाँचो छ।
सजायको भागिदार र भावी रोडम्याप
मकुना हात्तीको घाँटीमा लगाएको कलर आई डी मा ब्याट्री सकिएको रहेछ। रिसाएको मकुनाको आँखाले बोलिरहेको थियो– ‘मलाई किन कलर लगायौ? लगाएपछि समयमा ब्याट्री अथवा कलर किन फेरिदिएनौ?
शरीरभरि घाउ चोटको गहिरो दर्द छ। मलाई किन पीडा माथि पीडा दिन्छौ? खोई मेरो प्रकृति अमैत्री वनमन्त्री। खोई मेरो निरीह वन सचिव? खोई मेरो डी जी?’
मकुनाको मनोविज्ञान बुझेर उसलाई शान्ति दिन नसक्ने वन मन्त्रालय र वन प्रशासन सजायको भागिदार हुन्। हात्ती देखिनसक्ने र संरक्षण नचाहिने पूर्व वनमन्त्रीलाई कुन विज्ञले ए.बि.सि.डि. पढाउने?
मन्त्रीलाई दोष थोपरेर आफू सिन्को नभाँची ओभानो खोज्ने विज्ञ वन सचिवको निरिहता र बन्द ओठलाई कसले खोलिदिने? मकुनाले बारम्बार मागेको एउटा महानिर्देशक र उसको घाँटीको कलरमा लगाउने हजार रुपयाको ब्याट्री दिन नसक्ने वनको नेतृत्व वास्तवमा सजायको भागिदार छ।
आशा गरौं–मकुना हात्तीले नयाँ नेतृत्व पाएको छ। वनको यो नयाँ नेतृत्वले मकुना हात्तीलगायत वन्यजन्तुको मनोविज्ञान बुझेर समग्र प्रकृति संरक्षणको पक्षमा हितकारी र कीर्तिमानी काम गरेर देखाउने छन्। प्रकृति अमैत्री पूर्वमन्त्रीका कुकृत्यहरु सिघ्र सच्चाउने छन्।
पहल एवं निर्णय लिन सक्ने, आउटडोर लभर, व्यावहारिक र प्रकृतिमैत्री नयाँ स्मार्ट सचिव चाँडै नियुक्ति गर्ने छन्। राष्ट्रिय निकुञ्ज विभागमा २ वर्ष योगदान गर्ने स्मार्ट महानिर्देशक अविलम्ब नियुक्ति गर्नेछन्।
वन मन्त्रालयको भ्रष्टाचारको जालो छानबिन गरेर भ्रष्टाचाररहित सुशासनको प्रारम्भ गरेर देखाउने छन्। यावत् बेथितिहरुको अन्त्य गरेर असल थिति बसाल्न प्रकृतिलाई अराजनीतिक राख्न पहल गर्ने छन्। ३० प्रतिशत संरक्षण क्षेत्रको राष्ट्रिय संकल्प पूरा गर्न मजबुत् जग् खडा गरिदिने छन्।
नेपाल अन्तर्राष्ट्रिय सन्धी सम्झौताको दृढ रक्षक र अटल प्रकृतिप्रेमी छवि भएको विशिष्ट मुलुक हो भन्ने सन्देश दिन सफल हुने छन्।
मकुना हात्तीको माग बस यति हो।
जय प्रकृति संरक्षण।
(लेखक नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका पूर्व निर्देशक हुन्)
Facebook Comment