कोभिड–१९ को बादलभित्र [कथा]

डिसी नेपाल
१८ पुष २०७७ ६:२२

कोभिड १९ को कारणले गाउँघरमा उद्योग व्यापार श्रम र संचार रोकिएपछि अनिकाल फैलियो। मुश्किलले म आफ्नो गाउँमा पुगेँ। आफन्त र दौँतरीलाई खोजेँ। माथ्ला घरकी आमालाई सोधेँ ‘जन्तरे खै?’ तल्ला घरकी भाउजूलाई सोधेँ, ‘मन्तरे खै?’ स–साना अमला र कमलाले एक स्वरमा भने, ‘पुलिसले लग्यो।’

किन? के गरे? मैले जान्न खोजे।

‘उजुर परेपछि लाने भो नि पुलिसले’ आमा र भाउजुले स्वर मिलाए।

‘कबोल पनि गरे क्यारे।’ फेरि स्वर मिलाए।

‘हैन हैन अर्को कुरामा समाएर लगे। यी यिनै कुरा पढेको भनेर पक्रेको हो क्यार।’ अमला र कमलाले दैनिक र साप्ताहिक समाचार पत्र ल्याएर देखाए। मैले ठूला शीर्षकमा आँखा घुमाएँ।

कोभिड–१९ का बिरामीलाई उपचारमा कमी, गाउँ घरमा खाद्यान्नको अभाव सरकार उद्देश्यबाट बिमुख, आदर्श गाउँमा भोकबाट जनताको मृत्यु। जमिनको प्लटिङ र उत्पादनमा रोक, श्रम विनिमय र यातायात रोकिएपछि मृतकको संस्कारमा वृद्धि। स्वास्थ्य परीक्षणमा लापरवाही।

सोधखोज गरेपछि थाहा भो जवानहरु लुट काण्डमा पक्राउ परेर जेल पुगेछन्। मैले जन्तरे र मन्तरेलाई भेट्न जान्अघि एक वृद्धबाट पूरा जानकारी लिने विचारले घटनाको प्रसंगबारे सोधेँ। उनले दाँत झरेर अस्पष्ट भएको बोलीमा भने, ‘चीनतिर जाऊ तालिम या शीप सिकेर आऊ।

हाम्रो कल्याण गर। यो मागिखानेको देश त होइन तर यिनले मागिखाने बनाए। तिमीहरु जवान छौ हिम्मत गर भने तर….’

उनले थपे, ‘युवकहरुले लामो हात गर्न थाले भन्ने जानकारी मलाई भयो। वडाका सदस्यलाई खाद्यान्नको व्यवस्था गर्न गराउन आग्रह गरेँ। अब मेरो कुरा सुन्ने को? मबाट कस्को काम बन्छ र मेरो कुरा सुन्छ। आखिर जे नहुनु थियो त्यही भो। ’

‘अर्थात ?’

‘न हुने भयो। त्यस्तो हुनुहुने थिएन। बरु कुनै पार्टीको झोले भएर लुट मच्चाएको भए नेताले अपराधबाट जोगाउँथे। फाइदै फाइदा हुन्थ्यो। झोले बनेर जनताको दोहन गरेर धनाढ्य हुन पनि नचाहने, नीतिगत लूट पनि गर्न नसक्ने अनि फर्सी चोरेर पक्राउ पर्न चाहिँ पछि नपर्ने। संगति मिल्यो र?’
‘आखिर सत्य के हो ?’ म उत्सुक भएँ।

कि खुकरी नृत्य हुन्छ, कि देशले अर्को विधान तानेर ओढ्छ, अर्थात मेरो नागरिकता फेरिन्छ। र यो सबै गराउने विधान नै हो। विधानले नै दुष्कर्म गर्ने सुविधा दिएको छ। अपराधलाई संरक्षण दिएको छ। मेरो कुरा यै हो बाबु र मेरो कामना छ म बाच्ता बाँच्तै मेरो नागरिकता नफेरियोस्। म यो मेरै देश हो भन्न पाइरहूँ।

खोपल्टी परेका गालामा सासले कम्पन गराउँदै वृद्धले भने, ‘चोर्नु नै परेपछि सियो किन चोर्नु? बरु गतिलै कुरा चोरेको भए हुन्थ्यो। गुन्द्रुकमा जात फाल्नु पर्छ र? दाउ सही ठाउँमा परेन।’

‘अनि?’ को भावले मैले हेरे ।

उनले चित्र उपस्थित गर्दै भने, ‘दुई–चार झुत्ता मकै पनि झारेछन् टाँगोले। कौसीबाट दुईटा फर्सी पनि तानेछन्। भोकै थिए गरुन् के? न काम पाइन्छ न निस्कन पाइन्छ। न घरमा कुनै कुरा छ, न माग्दा कसैले दिन्छ।

राज्य स्वयं जनताका नाममा आएको–छुट्याएको सुविधामाथि लूट मचाउँछ। अनि गरीब निमुखा जनताले भोक मार्ने उपाय गर्दा पक्राउ नपरेर के होस। हामी बूढा–बूढीलाई भन्दा बढी नै भोक लाग्छ तन्नेरीलाई हैन र? यो विवशता हो, बाध्यता हो। त्यो अन्तिम विकल्प थियो त्यसबेला तीनका लागि।

वृद्धले एकछिन रोकिएर फेरि थपे, ‘दोष सत्तामा पुग्नेहरुको हो, यिनलाई दोषी मान्ने पक्षमा म छैन। यस्तै स्थिति रह्यो भने जनता विकल्पको खोजीमा जान्छन्।’

मैले उत्सुकता देखाएँ, ‘कस्तो विकल्प?’

‘कि खुकरी नृत्य हुन्छ, कि देशले अर्को विधान तानेर ओढ्छ, अर्थात मेरो नागरिकता फेरिन्छ। र यो सबै गराउने विधान नै हो। विधानले नै दुष्कर्म गर्ने सुविधा दिएको छ। अपराधलाई संरक्षण दिएको छ। मेरो कुरा यै हो बाबु र मेरो कामना छ म बाच्ता बाँच्तै मेरो नागरिकता नफेरियोस्। म यो मेरै देश हो भन्न पाइरहू।’

बुढा हुक्का तान्न लागे। म थानातिर लागेँ।

‘नमस्कार सा’ब ठानेदारसँग भेट्न चाहन्छु।’

उपाध्याय भन्नुपर्छ। प्रतिगामी र परम्परावादी कुरा यहाँ नगर्नुहोस्।
‘जी ।’

‘काम भन्नुहोस्। ’ ठानाको मान्छेले भन्यो।’

‘म उमेश र सर्वेशलाई भेट्न चाहन्छु, हामीचाँहि गाउँमा जन्तरे र मन्तरे भन्ने गर्छौँ।’

‘यहाँ त्यो नामका बन्दी छैनन्। अल्ताम रआलम छन्, डकैतीमा जाकिएका। हामीले बुझेअनुसार आर्य नाम फेरेर यी नाम दिएको रहेछ। यी नामले यिनको भविष्य उज्ज्वल हुन्छ भन्ने धार्मिक विश्वास छ।

‘एउटा बर्दी बाहिरबाट भित्र गयो। अर्को बर्दी भित्रबाट बाहिर आयो। सन्दर्भ फेरियो।

‘नमस्कार साब’

जै नेपाल! मै हुँ उपाध्याय। तपाईँ केका लागि मलाई भेट्न चाहनुहुन्थ्यो? छोटोमा कुरा गरौँ। कहीँ जन्तरे र मन्तरेका विषय त होइन?
‘जी हो ।’

‘तिनको नाम फेरियो त्यो त थाहा पाइहाल्नुभो। अब मेरो कुरा सुन्नुहोस। राज्यले फैलाएको एउटा जालभित्र यी परेका छन्। त्यो स्वभाविक अपराध हो। भोको भए म पनि त्यो काम गर्थे। आश्चर्य हैन।’

उसले एकछिन रोकिएर फेरि थप्यो, ‘मैले यिनलाई जानेरै यहाँ रोकेको हुँ। फेरि यो समस्या दोहोरिन सक्छ, किनभने कमाएर खान सक्ने स्थिति छैन। यहाँ बसुन्जेल खान त पाउँछन्। उनीहरु चाहन्छन् भने म खोलिदिन्छु, विधिवत उनीहरु जान सक्छन्। तपाईँ लिएर जानसक्नु हुन्छ। विचार गर्नुहोस फेरि घटना नदोहोरिएला भन्न सकिन्न।’

एकछिनमा थानाअगाडि ५/७ जना मान्छे आइपुगे। उभ्रेको खाना थापेर ती आफ्नो बाटो लागे। म हेर्दै रहेँ। उपाध्यायले मलाई लक्ष्य गरेर भन्यो, ‘स्थिति देख्नुभो होइन? यहाँ फेरि अर्को टोली आएपछि तपाईँका जन्तरे मन्तरेलाई छोडिदिउँला। अहिले यी साच्चै बन्दी अवस्थामा छैनन्। केही दिन बसून खाउन। भोकै बस्नु, चोर्नु डाका गर्नु वा भोकै मर्नुभन्दा बेश हो कि? मेरो प्रस्ताव हो दबाब होइन । तपाईँ विचार गरेर निर्णय लिनुहोला।’

म एकछिन द्विविधामा परेँ। भेट्न आएको हुँ भेटौँ कि नभेटौँ। बाहिर भोकै बस्नुभन्दा बरु यहीँ बस्तै गर्न असल होला भनेर म भन्नसक्छु र? भन्न मिल्छ? म काँतर भएँ।

फेरि उपाध्याय (थानेदार)को कुरा केलाएँ। अनुहार उपाध्यायको नभए पनि ऊ मानवता र विवेकको दृष्टिले उच्चकोटिको उपाध्याय देखिन्थ्यो। मान्छे कुन अर्थमा उपाध्याय हुन्छ ? यसतर्फ मेरो ध्यान गयो। अनि मैले यति भने, ‘ठिक छ तपाईँको संरक्षणमा छन्, जन्तरे मन्तरे। तपाईँको दृष्टिकोण र तिनको रुचि जीवनको प्रतिकूल नहोस। शुभकामना छ। जै नेपाल।’

यसरी जन्तरे र मन्तरेलाई भेटुन गएको म किन नभेटी नबोली फर्किएँ? राति आफैंसँग प्रश्न गर्दै निदाएँ–‘कहीँ तिनका आँखा र कीड्नी झिकेर शव कक्षमा फ्याकिँने पो हुन् कि? सडेको अवस्थामा पो देखिने हुन कि? कोरोनाको बादलभित्र यहाँ के हुँदैन?’ मन चिसो पारेर निदाउने यत्न गरेँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *