प्रचण्ड–माधव समूहद्वारा संसद् विघटनविरुद्धको आन्दोलनको घोषणा

डिसी नेपाल
१८ पुष २०७७ १६:१०

काठमाडौं। सरकारले हठात प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर अलग भएको नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलन घोषणा गरेको छ।

अन्य दलहरुसँग पनि सहकार्य गर्दै सँयुक्त आन्दोलन गर्ने भने पनि अन्तिममा नेकपा (प्रचण्ड–माधव) समूहले एकल रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी आन्दोलन संयोजन समितिका संयोजक नाराणकाजी श्रेष्ठले माघ महिनासम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरे।

यो समूहले संसद् विघटन असंवैधानिक भएको बताउँदै आएको छ। र संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरसमेत गरेको छ। केन्द्रदेखि वडा तहसम्म आन्दोलनका कार्यक्रम तय गरिएको हो।

यस्ता छन् कार्यक्रमः
२० पुस सम्म स्थानीय तह स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम।

२५ पुससम्म प्रदेश, जिल्ला, स्थानीय तह र वडा स्तरमा संघर्ष समिति गठन।

२१  पुसमा संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया।

२३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया।

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने।

२६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम।

२७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला।

२८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने।

२९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला।

२ माघमा सबै वडामा विरोध प्रदर्शन र सभा।

५ माघमा सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन र सभा।

१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली।

१६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा।

२२ माघमा वडा तहमा मसाल जुलुस।

२३ माघमा राजधानीमा विरोध प्रदर्शन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *