प्रधानमन्त्री रोजगारः पैदलमार्ग निर्माणमा रोजगारी

डिसी नेपाल
१८ पुष २०७७ २३:२२

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत म्याग्दे गाउँपालिका–४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ ।

रोजगार कार्यक्रममार्फत उक्त वडाका नौ जनाले रोजगारी पाएका छन् । बेरोजगार सूचीमा सूचीकृत भएकालाई डडुवागाउँको पैदलमार्ग मर्मतमा खटाइएको गाउँपालिकाका रोजगार संयोजक पवीन्द्रकुमार शाहीले जानकारी दिए । उक्त वडामा बेरोजगार सूचीमा ९९ जना सूचीकृत भए पनि प्राथमिकताका आधारमा नौ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गरिने शाहीले जानकारी दिए ।

सात वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४४४ जना सूचीकृत भएका छन् । त्यसमध्ये चालु आवमा १५४ ले एक सय दिनको रोजगारी पाउनेछन् । उनीहरुलाई दैनिक रु ५१७ ज्याला उपलब्ध गराइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालु आवमा रु ८० लाख बजेट प्राप्त भएको छ । बन्दीपुर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण भइरहेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आवमा पनि निरन्तरता दिएको हो ।

मुकुन्देश्वरीबाट रामकोट जोड्ने गरी साइकल लेनको काम भइरहेको गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिए । उक्त कामका लागि १५ जनालाई रोजगारी दिइएको छ । गाउँपालिकामा आव २०७७÷७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक गुरुङले जानकारी दिए।

गाउँपालिकामा चालु आवमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ । गत आवमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका थिए ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *