प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश नम्बर १ लाई

डिसी नेपाल
१९ पुष २०७७ १५:३१

दाङ । दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ। आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो।

एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन्। करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन्। यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन पुग्यो।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए। संगिता राईले १ विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए।

यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो। १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन्।

रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन्। आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन्।

यी दुई बाहेक टिमका लागि काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन्। उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन्। यस्तै रोमा थापाले ३ रन , निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन्।

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा १७ रन खर्चिइन्। यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन्।

उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप( विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *