कांग्रेसको निर्णयले दबावमा प्रधानमन्त्री ओली

डिसी नेपाल
२० पुष २०७७ ८:३६

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको  प्रतिनिधिसभा विघटनको विरोधमा वडातहसम्मै विरोधका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री ओली दबावमा परेका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्धमा सबै जसो राजनीतिक दलले विरोध गर्दै आएका छन्।  उनीहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै संसद पुनस्थापना हुनुपर्ने माग राखेका छन्।

तर कांग्रेसभित्र भने चुनावमा जाने र  पुर्नस्थापना गर्ने भन्ने विषयमा विवाद थियो। आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले  प्रतिनिधिसभा विघटनको विरद्धमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेपछि प्रधानमन्त्री ओली दबावमा परेका हुन्।

केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा जनाए अनुसार कांग्रेसले पुस २५ गते देशभरका सम्पूर्ण प्रदेश सभाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ।

त्यसैगरी माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते देशभरका सबै वडामा प्रदर्शनको कार्यक्रम तय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनलाई सकारात्मक रुपमा लिँदै चुनावमा जानुपर्ने पक्षमा छन्। तर पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको थियो।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने प्रतिनिधिसभा विघटनको विरोधमा छन्। उनीहरु प्रधानमन्त्रीको दकमलाई असंवैधानिक भन्दै आन्दोलनमा जानुपर्ने अडानमा छन््।

प्रमुख प्रतिपक्ष दलले पनि संसद विघटनलाई असंवैधानिक भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेपछि चुनावका पक्षमा माहोल बनाउने सरकारको प्रयासमाथि धक्का लागेको छ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्रीको कदमको विरोध गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ। हाल प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिटउपर संवैधानिक इजसालसमा सुनुवाइ भइरहेको छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *