नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने

डिसी नेपाल
२० पुष २०७७ १७:२०

काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटीको बैठकले आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य रघुजी पन्तले सोमबारको बैठकमा आन्दोलनलाई सफल बनाउने विषयमामात्र छलफल भएको र सम्पूर्णशक्ति लगाउने निर्णय भएको जानकारी दिए। पत्रकारहरुसँग कुरा गर्दै उनले काँग्रेसले सँयुक्त आन्दोलनका लागि सहमति नजनाए पनि आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा स्वागत योग्य कदम भएको बताए। नेकपा (प्रचण्ड–माधव) समूहले काँग्रेससँग मिलेर सँयुक्त आन्दोलन गर्ने प्रस्ताव गरे पनि काँग्रेसले एकल रुपमै आन्दोलन गर्ने बताएको थियो।

काँग्रेसले सँयुक्त आन्दोलन गर्न नमानेपछि नेकपा (प्रचण्ड–माधव) समूहले पनि एकल रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पत्रकारहरुसँग कुरा गर्दै नेता पन्तले संसद् पुनःस्थापना हुनेमा आफूहरु ढुृक्क रहेको बताए। उनले भने, ‘सर्वोच्चले हाम्रो मुख, काँग्रेस मुख वा प्रधानमन्त्रीको मुख हेरेर फैसला गदैन, संविधान हेरेर गर्छ।

संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्था नै छैन। अब दिउँसै रात पर्यो भने, आकाशै खस्यो भनेमात्र हो।’ उनले यो सरकारले चुनाव पनि नगराउने तर्क गरे। उनले भने, ‘सबै दल र जनताहरु चुनाव हुन्छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ। यो सरकारले चुनाव गरउँदैन। प्रधानमन्त्रीले त के के भन्नु हुन्छ। त्यसको पछि लागेर साध्य छैन।’

फरक प्रसंगमा पत्रकारहरुसँग कुरा गर्दै नेता पन्तले नेकपाको सबै सम्पत्ति आफूहरुकै हुने बताए। उनले भने, ‘नेकपाको बहुमत हामीसँग छ, सूर्य चिन्ह हाम्रै हुन्छ। सम्पत्ति पनि हाम्रै हुन्छ।’ नेकपामा विभाजन आएसँगै आधिकारिताको विवाद निर्वाचन आयोगमा पुगेको छ भने सम्पत्तिको विवाद पनि शुरु भएको छ। तत्कालिन एमालेको नाममा रहेका बैंक खाताहरु रोक्का गर्न प्रचण्ड–माधवले निवेदन नै दिइसकेका छन्।

नेकपा (प्रचण्ड–माधव)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी श्रीमती सिता दाहालको उपचारका लागि सोमबार भारततर्फ लागेपछि सोमबारको बैठकको अध्यक्षता अर्का अध्यक्ष माधवकुमार नेपालको भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *