प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी

डिसी नेपाल
२२ पुष २०७७ १२:०८

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी रहेको छ । सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा जारी रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथी बृहत् पूर्ण इजलासमा सुनुवाई गर्न कानुन व्यवसायीहरुले माग गरेका छन् । बृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गर्ने कानुन व्यवसायीहरुलाई इजलासले जवाफ दिएको छ । ‘संवैधानिक इजलासले नै यसबारे निर्क्यौल गर्नेछ, पूर्ण इजलासमा जाने कि नजाने भन्नेबारे यसैबाट आदेश दिनेछ’ इजलासले भन्यो ।

जवाफमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश हरिकृष्ण कार्कीले पहिले रिट निवेदनमाथि छलफल गर्न आदेश दिएका हुन् ।

इजलास कक्ष सानो भएको र कोरोनाको डरका कारण बहस सुन्नका लागि अदालत परिसरमा माइकको व्यवस्था गरिएको छ ।

इजलासमा न्यायाधीशहरु  हरीकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी छन् ।

सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ।

यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ।

उता नेपाल बार एशोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिएको छ। सर्वोच्च अदालतले एमिकस क्युरीका लागि कानूनवेत्ता झिकाउने आदेश जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *