कोहलपुर ओपन क्रिकेटः यूभीसीसी कोहलपुर , बीसीसीसी किर्तीपुर र यस एक्स्पर्ट क्वार्टरफाइनलमा

डिसी नेपाल
२२ पुष २०७७ १८:०६

कोहलपुर। शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्।

बी एण्ड बी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरु जित्दै यूभीसीसी कोहलपुर, बीबीसीसी किर्तीपुर र यस एक्स्पर्ट क्वार्टरफाइनल प्रवेश गरेका छन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा यूभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो। यूभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पका लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। यूभीसीसीको बलिंगमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लय भने बिरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंग गरेको यूभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो। उसका लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए। नेपालगंज च्याम्पको बलिंगमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रबिश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच यूभीसीसी नेपालगंजका सुमन गुरुङ चुनिए।

दिनको दोश्रो खेलमा बीबीसीसी किर्तीपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो। राझाले दिएको ६४ रनको लक्ष्य बीबीसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

बीबीसीसीका लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए। उनले १० बलमा ५ छक्का हिर्काए। निरज सिंह धामीले १९ रन बनाए।

यसअघि टस हारेर ब्याटिंग गरेको राझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो। राझाका लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बीबीसीसी किर्तीपुरका बलर निरज सिंह धामीले सर्वाधिक ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बीबीसीसी किर्तीपुरका निरज सिंह धामी चुनिए।

दिनको तेश्रो खेलमा यस एक्स्पर्ट्सले न्यु रोड ११ लाई १२६ रनले पराजित गर्यो। यस एक्स्पर्टले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यू रोड ११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो। न्यू रोडको लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए। यस एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट, नासिर अन्सारीले २ विकेट तथा सन्दिप खत्री र बिरेन्द्र नाथ योगीले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको एक्स्पर्ट्सले १५ ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। उसका लागि शुबेन्दु पाण्डेले शतक बनाउने क्रममा ५३ बलमा ११ चौका र ९ छक्का प्रहार गरे। बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए।

न्यू रोड ११ को बलिंगमा क्षितिज मल्लले २ तथा मदन शर्मा र किरन रावलले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिहिबार क्वार्टरफाइनल चरणको खेलहरु हुनेछन्। पहिलो क्वार्टरफाइनलमा विहान ८ः ३० बजे न्यू दर्पण युथ क्लब र कारकाँदो क्रिकेट क्लब, दोश्रो क्वार्टरफाइनलमा बिहान ११ः ३० बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र कोहलपुर क्रिकेट एकेडेमी तथा तेश्रो क्वार्टरफाइनलमा बीबी वारियर्स र यूभीसीसी कोहलपुरले प्रतिस्पर्धा गर्नेछन्। चौथो क्वार्टरफाइनल खेल शुक्रबार विहान बीबीसीसी किर्तीपुर र सम्झना स्पोर्ट्स क्लब बीच खेलिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *