प्रतिनिधिसभा विघटनः सडकदेखि सदनसम्म प्रधानमन्त्रीको विरोध

डिसी नेपाल
२३ पुष २०७७ १६:२७

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ भने सो निर्णयलाई सर्वोच्च अदालतमा चुृनौतीसमेत दिइएको छ। र सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना भयो। बिहीबारको बैठकमा सभाका  १ दर्जनभन्दा धेरै सांसदहरुले आ आफ्नो भनाइ राखे। र ती मध्ये दुईजनाले बाहेक सबैले प्रतिनिधिसभा विघटनको आलोचना गरे।

नेकपा सांसदहरु खिमलाल भट्टराई, रामलखन चमार र शेरबहादुर कुँवरले बैठकको विशेष समयमा बोलएका थिए। यस्तै काँग्रेसका रमेशजंग रायमाझी र अनिता देवकोटाले बोलेका थिए। राष्ट्रपतिबाट मनोनित तीनैजना सांसदहरु नेकपा उपाध्यक्ष वामदेव गौतम, रामनारायण बिडारी र विमला पौडेल तथा जनता समाजवादी पार्टीका मृगेन्द्रसिंह यादवले बिहीबारको बैठकमा बोलेका थिए। यी मध्ये खिमलाल देवकोटा र विमला पौडेललेमात्र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको बचाउ गरे। अन्य सबै सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरे।

बैठकको विशेष समयमा बोल्दै सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको बताए।

उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए।

उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हुने व्यवस्था रहेको अवगत गराए।

नेपालमा छुट्टै व्यवस्था रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिन नसके मात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको उनको भनाइ थियो। ‘ससंविधानलाई कसैले पनि शक्तिहीन बनाउनु हुँदैन, ताजा जनादेश माग प्रधानमन्त्रीको इच्छाबाट हुँदैन’, उनले भने।

नेपाली कांग्रेसकी अनिता देवकोटाले सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भङ्ग गरेको जनाउँदै सरकारले वैशाखमा कसरी निर्वाचन गर्न सक्छ भनी प्रश्न गरिन्। सांसद देवकोटाले ‘सरकारले प्रतिनिधिसभा फेस गर्न नसकेर’ संविधानको मर्म र भावना विपरीत विघटन गरेको टिप्पणी गर्दै जनभावनानुसार काम गर्न नसकेको आरोप समेत लगाइन्।

यस्तै काँग्रेस सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री को हुन्, हिटलर ? भनी प्रश्न गरे। उनले ओलीलाई प्रधानमन्त्री भन्नेकी नभन्ने भन्दै उनले प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य हुनुपर्ने तर, अहिले ओली त्यसको सदस्य नरहेको, बहुमत प्राप्त व्यक्ति हुनुपर्ने तर, ओलीसँग बहुमत नरहेको र मानसिक अवस्था पनि ठिक हुनुपर्नेमा प्रधानमन्त्रीको मानसिक स्वास्थ्यबारे के भन्ने ? भन्दै प्रश्न गरे।

बैठकको विशेष समयमा बोल्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले भने, ‘तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ।’ पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे।

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, ‘आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो। यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन।’

सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन्।

सांसद विमला पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लगाइएको नाराले सम्पूर्ण महिलाको शिर निहुर्याएको जनाउँदै त्यस विषयमा सम्बन्धित दलले माफी माग्नुपर्नेमा जोड दिइन्।

यस्तै नेकपा सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा कसैले शंका गर्नु नपर्ने बताए।

प्रतनिधिसभा विघटनविरुद्ध सडकमासमेत प्रदर्शनहरु भइरहेका छन्। नेकपा (प्रचण्ड–माधव), नेपाली काँग्रेस, राप्रपा, जसपा, विवेकशील साझा दल र नागरिक समाजका अगुवाले सडकमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *