अमेरिका–जापान पठाइदिन्छु भन्दै नक्कली विवाह गरी ठगि गर्ने एक युवती पक्राउ

काठमाडौं। दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूलाई अमेरिका–जापान पठाइदिन्छु भन्दै डेढ करोडभन्दा बढी ठगी गर्ने एक युवती पक्राउ परेकी छन्। गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगकी इटहरी उप–महानगरपालिका–४ बस्ने २४ वर्षीया विद्या शर्मा (विद्या सरकार) पक्राउ परेकी हुन्।
स्थानीय तहसँगको समन्वयमा ति युवतीले कोरोना (कोभिड–१९) महामारीमा दैलेखमा लाखौं रकम बराबरको राहत वितरण गरि स्थानीयलाई प्रभावमा पारेकी थिइन्। प्रहरीका अनुसार उनले सो काम गर्ने क्रममा युवाहरुसँग नक्कली बिबाह गरि अमेरिका र जापान पठाइदिने भन्दै करिब ८० लाख बराबरको ठगि समेत गरेकी थिइन्।
आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सीईओ) बताउँदै उनले दैलेखमा राहत वितरणका क्रममा अमेरिकाको लागि भीसा पनि लागेकाले १० जना लान सकिने भन्दै उनीहरुबाट लाखौं रुपैयाँ उठाएकी थिइन्।
दैलेखका प्रहरीका अनुसार अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
ती युवतीविरुद्ध सुनसरी, झापालगायत जिल्लामा समेत उजुरी परेको जनाइएको छ। तर दैलेख प्रहरीको पहलमा उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरी हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख लगिएको छ।
युवतीले एक युवालाई फेसबुकमा साथी बनाएर तिनै युवकको घरमा बस्दै कोरोना र पहिरोपीडित परिवारहरूलाई राहत बाँडेको नाममा ठगिको जाल फैलाएकी थिइन्। साथै आफू बसेको घरको पारिवारिक राजनीतिक पहुँचको आडमा ठगी गरेको खुलेको छ।
पूर्वराजा, शीर्ष नेता, कलाकारदेखि प्रहरीसँग खिचेका फोटा फेसबुकमा पोस्ट गरेकीले उनी ठूलै मान्छे हुन् भन्ने भ्रम छर्नलाई थप बल पुर्याएको थियो। जसलाई हेरेर पनि युवाहरु उनको फन्दामा परेका थिए।
पिडितहरुले दिएको उजुरीको आधारमा उनलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान थालिएको छ।
Facebook Comment