निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

डिसी नेपाल
२४ पुष २०७७ १३:१३

काठमाडौं। सरकारले वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटको छ। आयोगले घोषित मिति मै निर्वाचन सम्पन्न गर्नका लागि भन्दै निर्वाचनको तयारीमा जुटेको हो। आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ।

मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आयोगले उक्त कार्यक्रम संचालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गरेको छ।

आयोगले योसँगै मतदान केन्द्र र मतदानस्थलको पुनरावलोकन गर्ने काम पनि सरु गरेको छ। शान्ति सुरक्षाको स्थितिका विषयमा सुरक्षा निकायसँग समन्वय गरिरहेको आयोगले निर्वाचनका लागि आवश्यक पर्ने अन्य तयारी पनि सुरु गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेका थिए। यद्यपी प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ जारी छ।

सर्वोच्चको जे फैसला आएपनि त्यसलाई सबैले स्वीकार गर्ने भन्दै आयोगले आफ्नो तयारीलाई जारी राखेको छ। ‘तोकिएको मितिमा निर्वाचन गर्न आयोगले आफ्नो तयारी सुुरु गरिसकेको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले डिसी नेपालसँग भने, ‘अदालतको निर्णय आउँदासम्म काम रोक्ने हो भने तोकिएको समयमा निर्वाचन गर्न संभव हुँदैन, त्यसैले आयोगले आफ्नो तयारी गरिरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *